बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

रसुवागढीमाथि सीमा क्षेत्रमा फेरि थुनिएर तालमा पानी बढ्दा जोखिम कायम

आइतबार, भदौ १४ २०८३
रसुवागढीमाथि सीमा क्षेत्रमा फेरि थुनिएर तालमा पानी बढ्दा जोखिम कायम

नेपालतर्फ थप बाढीको जोखिम पूर्णरूपमा समाप्त भएको छैन। नयाँ पहिरो, नयाँ अस्थायी बाँध, माथिल्लो भागमा पहिचान भएको अर्को ताल तथा लगातार अस्थिर हिमाली भूभागका कारण जोखिमको निरन्तर निगरानी आवश्यक छ।

काठमाडौं- रसुवागढीमाथि नेपाल-चीन सीमाको उत्तरी क्षेत्रमा प्राकृतिक रूपमा थुनिएको ठूलो तालको जोखिम अझै कायम रहेको चिनियाँ सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।

गएको बुधबार आएको विनाशकारी बाढीपछि बनेको तालको पहिलो जोखिम घटेको छ तर सोही क्षेत्रमा अर्को पहिरो गएर नयाँ अस्थायी बाँध बन्न थालेपछि थप बाढीको जोखिम भने पूर्णरूपमा टरेको छैन।

चिनियाँ सरकारी सञ्चारमाध्यम 'सीजीटीएन'ले ३० अगस्टमा प्रकाशित गरेको विवरणअनुसार थुनिएर बनेको पहिलो तालको अवस्था नियन्त्रणमा आएको छ। २९ अगस्टसम्मको निगरानीमा उक्त तालको पानीको सतह र क्षेत्रफल घट्दै गएको थियो। ताल करिब १ लाख वर्गमिटर क्षेत्रफलमा फैलिएको थियो, जुन करिब १४ वटा मानक फुटबल मैदान बराबर रहेको जनाइएको छ।

चीनको जलस्रोत मन्त्रालयबाट परिचालित जलविज्ञ तथा हाइड्रोलोजिकल निगरानी टोलीले पनि तालबाट पानी प्राकृतिक रूपमा बाहिरिँदै गएको र पहिरोले बनाएको प्राकृतिक बाँध लगभग खाली भइसकेको जनाएको थियो। यसले केही समयअघि देखिएको तत्कालीन ठूलो ताल फुट्ने जोखिमलाई उल्लेख्य रूपमा कम गरेको देखिन्छ।

पहिलो तालको जोखिम घट्दै गर्दा सोही क्षेत्रमा नयाँ पहिरो देखिएको छ। चीनका अनुसार २९ अगस्ट राति ड्रोनबाट गरिएको निगरानीमा उक्त तालबाट करिब २.८ किलोमिटर तलतिर पहिरो गएर नयाँ अस्थायी अवरोध बनेको र त्यसका कारण अर्को 'ब्यारियर लेक' बन्न थालेको पत्ता लागेको हो।

यसले नेपालतर्फ थप बाढीको जोखिम पूर्णरूपमा समाप्त भएको छैन। नयाँ पहिरो, नयाँ अस्थायी बाँध, माथिल्लो भागमा पहिचान भएको अर्को ताल तथा लगातार अस्थिर हिमाली भूभागका कारण जोखिमको निरन्तर निगरानी आवश्यक छ।

pahiro rasuwa.jpg

नयाँ जोखिमको आँकलनपछि चिनियाँ अधिकारीहरूले आसपास परिचालित उद्धारकर्मीलाई सुरक्षित स्थानमा सारेका छन्। घटनास्थलमा ठूलो भार बोक्न सक्ने ड्रोन प्रयोग गरेर ताल र आसपासको भूभागको निरन्तर निगरानी भइरहेको छ।

पहिलो तालभन्दा करिब ५ किलोमिटर माथिल्लो भागमा  ‘लेक टू'  नाम दिइएको अर्को ब्यारियर लेक पनि पहिचान भएको जनाएको छ। यसले सीमा क्षेत्रमा एउटै तालको जोखिम मात्र नभइ अस्थिर हिमाली भूभागमा थप पहिरो र नयाँ अवरोध बन्न सक्ने जोखिम कायम रहेको देखाउँछ।

यसअघिको बाढीमा अमेरिकी भूगर्भ सर्वेक्षणले सुरुमा रेकर्ड भएको कम्पनलाई भूकम्पसँग जोडेको भए पनि पछि उक्त कम्पन हिमनदी, चट्टान र त्यसबाट उत्पन्न फ्लोको प्रक्रियाबाट सिर्जित भूकम्पीय संकेत भएको निष्कर्षतर्फ गएको छ।

चिनियाँ पक्षबाट प्राप्त स्याटेलाइट तस्बिरका आधारमा हिमपहिरो र चट्टान खस्दा ल्हेन्दे खोलाको बहाव अवरुद्ध गरेको र त्यसपछि पानी तथा माटोढुंगाको ठूलो मात्रा एकैपटक तलतिर बगेको थियो। घटनाको पूर्ण प्राविधिक अध्ययन भने अझै हुन बाँकी छ।


प्रकाशित : आइतबार, भदौ १४ २०८३१२:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend