काठमाडौं- देशका विभिन्न भूभागमा आएको भीषण बाढीबाट प्रभावित परिवारको पुनर्वास तथा पुनःस्थापनाका लागि बीएलसी ग्लोबल होल्डिङ्स र बसन्त चौधरी फाउण्डेसनले संयुक्त रूपमा ३ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।
बाढीबाट ठूलो जनधनको क्षति हुनुका साथै हजारौँ परिवार घर, सम्पत्ति तथा जीविकोपार्जनबाट वञ्चित भएको भन्दै बीएलसी परिवारले राहतसँगै सुरक्षित आवास र पुनःस्थापनालाई प्राथमिकता दिनुपर्ने जनाएको छ।
बीएलसी अन्तर्गतका कम्पनीहरू तथा बसन्त चौधरी फाउण्डेसनका तर्फबाट उक्त रकम बाढीपीडित परिवारको पुनर्वासका लागि उपलब्ध गराउने निर्णय गरिएको हो। सम्बन्धित सरकारी तथा स्थानीय निकायसँग आवश्यक समन्वय गरी सहयोग रकम वास्तविक पीडित परिवारको पुनर्वासमा प्रभावकारी रूपमा उपयोग गरिने जनाइएको छ।
बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बीएलसीले विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
उद्धार, राहत तथा पुनःस्थापनामा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक, सरकारी निकाय तथा सामाजिक संघसंस्थाप्रति पनि बीएलसीले सम्मान व्यक्त गरेको छ।
विपत्तिको यस घडीमा पीडित परिवारको जीवनमा आशा र भरोसा जगाउन निजी क्षेत्र, संघसंस्था तथा आम नागरिकलाई आ–आफ्नो स्थानबाट सहयोग गर्न पनि बीएलसीले आग्रह गरेको छ।
बीएलसी ग्लोबल होल्डिङ्सका संस्थापक तथा बसन्त चौधरी फाउण्डेसनका संस्थापक बसन्त चौधरीले बाढीपीडितको पुनर्वासका लागि यस्तो सहयोग घोषणा गरेका हुन्।