बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

बाढी प्रभावित क्षेत्रमा खोज तथा शव व्यवस्थापन चुनौतीपूर्ण, उपकरण अभाव भएको प्रहरीको भनाइ

शनिबार, भदौ १३ २०८३
बाढी प्रभावित क्षेत्रमा खोज तथा शव व्यवस्थापन चुनौतीपूर्ण, उपकरण अभाव भएको प्रहरीको भनाइ

प्रभावित जिल्लाहरूमा फरेन्सिक चिकित्सकहरूको आवश्यकता बढेको प्रहरीले जनाएको छ।

काठमाडौं- भोटेकोशी बाढीपहिरो प्रभावित क्षेत्रमा लेदो र दलदलका कारण खोजी कार्य कठिन बन्दै गएको छ भने अस्पतालहरूमा शवको चाप बढेपछि व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ। उद्धारका लागि आवश्यक पर्ने विशेष उपकरण, फरेन्सिक विज्ञ तथा शव सुरक्षित राख्न ‘रेफ्रिजरेटिङ कन्टेनर’को अभाव खट्किएको नेपाल प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेले न्युज एजेन्सी नेपालसँग कुरा गर्दै बाढीको लेदोमा खोजी कार्य प्रभावकारी बनाउन विशेष बुट, १० वटा वायरलेस ट्र्याकिङ डिभाइस र १०० केजीसम्म भार बोक्नसक्ने ‘ट्रान्सपोर्टेसन ड्रोन’ तत्काल आवश्यक रहेको बताए। घटनास्थलहरू दलदलयुक्त भएकाले सामान्य तरिकाले खोजी र सामग्री ढुवानी गर्न समस्या भएको उनले स्पष्ट पारे।

उता काठमाडौंको त्रिवि शिक्षण अस्पताल (टिचिङ), पोखरा र चितवनका अस्पतालहरूमा शवको चाप अत्यधिक बढेपछि सुरक्षित भण्डारणको चुनौती थपिएको छ। शवहरू बिग्रिन नदिन ‘रेफ्रिजरेटर कन्टेनर’ तत्काल आवश्यक परेको उल्लेख गरे।

प्रवक्ता काफ्लेले भने, ‘शव बिग्रिन नदिनका लागि रेफ्रिजरेटिङ कन्टेनर धेरै जरुरी भएको छ, यस विषयमा हामीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए) सँग पहल गरिरहेका छौँ।’

प्रभावित जिल्लाहरूमा फरेन्सिक चिकित्सकहरूको आवश्यकता बढेको प्रहरीले जनाएको छ। लामो समयसम्म पहिचान खुल्न नसकेका शवहरूको हकमा भने सरकारले हालै स्वीकृत गरेको नयाँ कार्यविधिअनुसार फरेन्सिक नमूना संकलन गरी सुरक्षित राख्दै व्यवस्थापनको प्रक्रिया अघि बढाइने डीआईजी काफ्लेले जानकारी दिए।


प्रकाशित : शनिबार, भदौ १३ २०८३१८:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend