काठमाडौं- बाढीमा परी हालसम्म ६६९ जनाको मृत्यु भएको छ भने २ हजार ३६२ जना अझै बेपत्ता छन्।
प्रहरीको तथ्यांकअनुसार मृत्यु हुने ६६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष, २२ बालिका र २० बालक रहेका छन्। यसैगरी २ सय ११ वटा आंशिक मानव अंगहरू फेला परेका छन्। फेला परेका शवमध्ये २० वटा पहिचान पश्चात कानूनी प्रक्रिया पूरा गरी सम्बन्धित आफन्तलाई हस्तान्तरण गरिसकिएको छ।
बेपत्ता हुनेहरूको सङ्ख्या २ हजार ३६२ पुगेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेले जानकारी दिए। यसमध्ये १ हजार ८६३ जना नेपाली नागरिक (१ हजार ५९१ पुरुष र २६४ महिला) रहेका छन् भने ५२३ जना विदेशी नागरिक (२२३ पुरुष र ३ सय महिला) बेपत्ता छन्।
उद्धार कार्यको विवरण दिँदै प्रवक्ता काफ्लेले हालसम्म २ हजार ३ सय १ जनाको सफल उद्धार गरिएको जानकारी दिए। उद्धार गरिएकामध्ये १ हजार ५ सय ६ पुरुष र ७९५ महिला रहेका छन्। विपद् प्रभावितहरूका लागि नुवाकोटमा ९ वटा होल्डिङ सेन्टर सञ्चालनमा रहेका र त्यहाँ करिब १ हजार व्यक्तिले आश्रय लिइरहेका छन्। धादिङमा पनि होल्डिङ सेन्टरको व्यवस्था गरिएको भएपनि हाल त्यहाँ कोही नरहेको प्रहरीले जनाएको छ।
विपद् व्यवस्थापन र खोजी कार्यलाई तिब्रता दिन प्रहरीले विभिन्न विशेष टोलीहरू परिचालन गरेको छ। प्रवक्ता काफ्लेकाअनुसार गत १० गतेदेखि नै २२ जनाको मेडिकल टोली कार्यक्षेत्रमा खटिएको छ। खोजी कार्यलाई प्रभावकारी बनाउन ७ वटा ड्रोन र ६ जना अपरेटर सहितको टोली परिचालन गरिएको छ भने शनिबार थप ड्रोन र विपद् व्यवस्थापन टोली रसुवातर्फ पठाइएको छ।
बुधबार रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण विभिन्न जिल्ला प्रभावित भएका छन्। नुवाकोटलगायतका आसपासका जिल्लाका नदीहरुमा समेत बहाव बढ्दा मानवीय क्षति हुनुका साथै भौतिक संरचनाहरु तहसनहस भएका छन्।
प्रहरीले तालिमप्राप्त कुकुरहरू समेत प्रयोग गरी खोजी तथा उद्धारमा सक्रिय भएर लागिरहेको छ। साथै, शव संकलन, पहिचान, कानूनी सहायता तथा मुचुल्का लेखनका लागि छुट्टाछुट्टै विज्ञ टोलीहरू कार्यक्षेत्रमा सक्रिय रहेको प्रहरीले जनाएको छ।