काठमाडौं- नेपाल आयल निगमले भोटेकोशी नदीमा बाढी गएपछि खोज तथा उद्धारमा संलग्न हेलिकप्टरका लागि ४० हजार ८४० लिटर हवाई इन्धन नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकमा पठाएको छ।
निगमले आज प्रेस विज्ञप्ति जारी गरेर खोज तथा उद्धारका लागि गत भदौ १० गतेदेखि नियमितरुपमा नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकमा उपलब्ध गराउँदै आइरहेको जनाएको छ।
सोही ठाउँबाट हेलिकप्टरका लागि हवाई इन्धन रिफिलिङको काम हुँदै आइरहेको छ। निगमका अनुसार भदौ १० मा १२ हजार लिटर, भदौ ११ मा हेलिकप्टर र ट्यांकरमार्फत १० हजार ८४० लिटर पठाएको थियो।
त्यसैगरी, भदौ १२ गते नौ हजार लिटर र भदौ १३ गते नौ हजार लिटर हवाई इन्धन उपलब्ध गराएको छ। निगमको थानकोटस्थित बागमती प्रादेशिक कार्यालयबाट बाढी प्रभावित क्षेत्रमा रहेका पेट्रोलपम्पलाई भदौ १३ गतेसम्म ७२ हजार लिटर पेट्रोल र ६२ हजार लिटर डिजेल उपलब्ध गराइएको निगमले जनाएको छ।
निगमले बाढी प्रभावित स्थानमा रहेका सेल्टरमा नेपाल ग्यास उद्योगबाट नुवाकोटमा २३२ थान सिलिण्डर ग्यास उपलब्ध गराएको छ। त्यसैगरी एलपी ग्यास उद्योग संघबाट पनि नुवाकोट र रसुवाका लागि १५० थान सिलिण्डर राहत कार्यमा पठाइएको जनाएको छ। रासस