बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

चीन र भारतका प्राविधिकले थाले सुरुङभित्र फसेकाको छुट्टाछुट्टै रेस्क्यु

शनिबार, भदौ १३ २०८३
चीन र भारतका प्राविधिकले थाले सुरुङभित्र फसेकाको छुट्टाछुट्टै रेस्क्यु

चिनियाँ प्राविधिक टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग समन्वय र सहकार्य गर्दै सुरुङभित्रको अवस्थाको प्राविधिक ‘रेकी’ गर्नेछ।

काठमाडौं- बाढीका कारण प्रभावित रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका श्रमिकको उद्धारका लागि चीन र भारतका प्राविधिक टोली परिचालन भएका छन्।

सुरुङभित्रको उद्धार कार्यलाई प्राविधिक रूपमा सुरक्षित र प्रभावकारी बनाउन चिनियाँ ६ सदस्यीय प्राविधिक विज्ञ टोली घटनास्थलमा पुगेको छ। नेपाल सरकारको अनुमतिमा चिनियाँ हेलिकप्टरमार्फत टोली सिधै त्रिशूली क्षेत्रमा अवतरण गरी उद्धार अभियानमा जोडिएको हो।

चिनियाँ प्राविधिक टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग समन्वय र सहकार्य गर्दै सुरुङभित्रको अवस्थाको प्राविधिक ‘रेकी’ गर्नेछ। सुरुङको अवस्था, जोखिमको स्तर तथा उद्धारका सम्भावित विकल्पबारे प्रारम्भिक अध्ययनपछि आवश्यकताअनुसार थप प्राविधिक जनशक्ति परिचालन गर्ने तयारी गरिएको छ।

यस्तै, भारतबाट पनि बाढी प्रभावित नेपालका लागि राहत सामग्री तथा उद्धार टोलीसहितको तेस्रो उडान काठमाडौं आइपुगेको छ। भारतीय विदेशमन्त्री एस जयशंकरले सामाजिक सञ्जालमार्फत तेस्रो उडान काठमाडौं पुगेको जानकारी दिएका हुन्।

उनका अनुसार उक्त उडानमार्फत राहत सामग्रीसँगै ११ सदस्यीय मेडिकल तथा टनेल उद्धार टोली नेपाल पुगेको छ। यसअघि भारतले बाढी प्रभावितको उद्धार तथा राहतका लागि १० टन मानवीय सहायता तथा अत्यावश्यक औषधि नेपाल पठाएको थियो।

पहिलो चरणमा मानवीय सहायता र औषधि पठाएको भारतले पछिल्लो उडानमार्फत थप राहत सामग्रीसँगै विशेषज्ञ टोली पठाएको हो। भारतीय टोलीले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य उपचार, खोज तथा उद्धार तथा विशेषगरी सुरुङभित्र फसेकाको उद्धारमा प्राविधिक सहयोग गर्नेछ।

यससँगै माथिल्लो त्रिशूली-३ ‘बी’को सुरुङ उद्धारमा नेपाली सुरक्षा निकायसँगै चीन र भारतका विशेषज्ञ टोलीसमेत प्रत्यक्ष रूपमा परिचालन भएका छन्। अत्यन्त जोखिमपूर्ण र प्राविधिक रूपमा जटिल मानिएको उद्धारमा विदेशी विशेषज्ञको प्राविधिक सहयोगले उद्धारको सम्भावना थप बलियो बनाउने अपेक्षा गरिएको छ।

भारतीय विदेशमन्त्री जयशंकरले यसअघि नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकप्रति दुःख व्यक्त गर्दै भारत नेपाल र नेपाली जनताको साथमा रहेको बताएका थिए। भारतले विपद्को कठिन घडीमा नेपाललाई आवश्यक मानवीय सहयोग जारी राख्ने जनाएको छ।


प्रकाशित : शनिबार, भदौ १३ २०८३१६:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend