काठमाडौं- भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा पुनर्स्थापनाका लागि विदेशबाट नेपाल पठाइने सहयोग रकममा आइएमईले शुल्क नलिने भएको छ। विदेशमा रहेका नेपाली तथा अन्य दाताले आइएमईमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका लागि निःशुल्क रकम पठाउन सक्नेछन्।
आइएमईले प्राकृतिक विपद्को संवेदनशील अवस्थालाई ध्यानमा राखेर विदेशबाट पठाइने सहयोग रकममा शुल्क नलिने व्यवस्था गरेको जनाएको छ। दाताले सरकारले तोकेका विभिन्न बैंक खातामा सिधै रकम जम्मा गर्न सक्नेछन्।
नेपालभित्र रहेका व्यक्तिले पनि खल्ती बाइ आइएमईमार्फत सरकारी राहत कोषमा निःशुल्क रकम पठाउन सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

यसअघि सरकारले पनि विदेशबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिधै अन्तर्राष्ट्रिय कार्डमार्फत सहयोग रकम पठाउन मिल्ने अनलाइन भुक्तानी प्रणाली सञ्चालनमा ल्याएको थियो। अर्थ मन्त्रालयका अनुसार उक्त प्रणालीमार्फत मात्रै करिब ३५ करोड रुपैयाँ राहत रकम संकलन भइसकेको छ। शनिबारसम्म बाढीपीडितका लागि सरकारी आह्वानपछि कुल ४ अर्ब रुपैयाँभन्दा बढी रकम संकलन भएको छ।
अब विदेशबाट सहयोग पठाउन चाहने दातासँग अन्तर्राष्ट्रिय कार्ड, स्विफ्ट बैंकिङ र आइएमईमार्फत रकम पठाउने विकल्प उपलब्ध भएका छन्।