बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

राहत वितरणमा सीमित सामाजिक संस्था परिचालन गरेकोप्रति कांग्रेसको आपत्ति, प्रधानमन्त्रीलाई भन्यो- ‘ज्यान गुमाइसकेपछि राहत पुग्नुको अर्थ हुँदैन’

इच्छुक मित्र राष्ट्रहरूलाई पनि उद्धार तथा राहत कार्यमा सहभागी गराउन सुझाव

शनिबार, भदौ १३ २०८३
राहत वितरणमा सीमित सामाजिक संस्था परिचालन गरेकोप्रति कांग्रेसको आपत्ति, प्रधानमन्त्रीलाई भन्यो- ‘ज्यान गुमाइसकेपछि राहत पुग्नुको अर्थ हुँदैन’

काठमाडौं- नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बेले रसुवाका दुर्गम तथा विकट क्षेत्रमा राहत सामग्री पुग्न नसकेको भन्दै प्रधानमन्त्री बालेन्द्र साहको ध्यानाकर्षण गराएका छन्। शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा उनले राहत वितरण प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आग्रह गरेका हुन्।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता आङदेम्बेले नुवाकोटका तल्लो क्षेत्रहरूमा राहत केन्द्रित भएपनि रसुवाका माथिल्लो भेगहरू अझै उपेक्षित रहेको बताए। राहत वितरणमा सीमित सामाजिक संस्थाहरू मात्र संलग्न गराइएकोमा आपत्ति जनाउँदै उनले राज्यले पहिचान गरेका र स्थानीय प्रशासनले विश्वास गरेका अन्य विश्वसनीय संस्थाहरूलाई पनि परिचालन गर्नुपर्नेमा जोड दिए।

कुनै एक संस्थाको मात्र भर पर्दा राहत पुग्न ढिलाइ हुने र पीडितहरू थप समस्यामा पर्ने उनको तर्क छ। उनले राहत सामग्री गोदाममा थुप्रिने वा बिग्रिने तर लक्षित वर्गसम्म नपुग्ने अवस्था सिर्जना हुन नदिन सरकारलाई सचेत गराएका छन्। 

नेता आङदेम्बेले समयमै राहत नपुगे मानवीय क्षति बढ्न सक्ने चेतावनी दिँदै भने, ‘मानिसले खान नपाएर ज्यान गुमाइसकेपछि राहत पुग्नुको कुनै अर्थ रहँदैन। त्यसैले अहिलेकै अवस्थामा प्रभावकारी ढंगले सामग्री पुर्‍याउनुपर्छ। धुन्चेसम्म हेलिकप्टरबाट केही सामग्री पुगे पनि भौगोलिक रूपमा क्षतविक्षत भएका अन्य विकट स्थानमा सर्वसाधारणले राहत पाउन सकेका छैनन्। त्यहाँका जनप्रतिनिधि र स्थानीय साथीभाइहरूले राहत नपुगेको गुनासो बारम्बार गरिरहनुभएको छ।’

राहत वितरण प्रक्रियालाई पारदर्शी र पहुँचयोग्य बनाउन स्थानीय प्रशासन र राज्य दुवैले विश्वसनीय ठहर गरेका संस्थाहरूलाई तत्काल जिम्मेवारी दिनुपर्ने उनको माग छ।

साथै उनले विपत्तिको सामना गर्न सरकारलाई आफ्नो पार्टीको तर्फबाट पूर्ण सहयोग र सद्भाव रहने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रधामन्त्रीसँगको भेटका क्रममा नेता आङ्देम्बेले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकनका क्रममा देखिएका समस्याहरू प्रधानमन्त्रीसमक्ष राखे। उनले आयुर्वेदिक अस्पतालमा राखिएका ज्येष्ठ नागरिकहरूको स्वास्थ्य अवस्था, त्यहाँ शैय्या, औषधि र जनशक्तिको अभावका विषयमा जानकारी गराए।

विपद्को यस घडीमा सरकारी संयन्त्रले मात्र सबै कार्य गर्न कठिन हुने भएकाले निजी क्षेत्र र इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्ब उद्धार तथा राहत कार्यमा सहभागी गराउन उनले सुझाव दिए।

जवाफमा प्रधानमन्त्रीले निजी क्षेत्र र वैदेशिक सहयोगका लागि सरकारले अनुमति दिइसकेको जानकारी दिए। छिमेकी मुलुक चीनबाट आउन लागेको सहयोग टोली प्रतिकूल मौसमका कारण रोकिएको र अन्य मुलुकहरूबाट पनि सहयोग आउने क्रम जारी रहेको प्रधानमन्त्रीको भनाइ छ।


प्रकाशित : शनिबार, भदौ १३ २०८३१४:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend