काठमाडौं- चौधरी फाउन्डेसन र नबिल बैंकले भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै बाढी प्रभावित समुदायका लागि विविध राहत तथा पुनर्स्थापना कार्यक्रमको घोषणा गरेका छन्।
सरकारका राहत तथा पुनर्स्थापना योजनामा प्रभावित क्षेत्रमै सक्रियरूपमा सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै चौधरी फाउन्डेसन र नबिल बैंकले बाढीबाट प्रभावित समुदायलाई राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्याउने साझा प्रतिबद्धतासहित बहुचरणमा कार्यान्वयन गरिने बृहत् राहत तथा पुनर्स्थापना कार्यक्रम घोषणा गरेका गरेका हुन्। यस कार्यक्रमको अनुमानित लागत करिब १५ करोड रूपैयाँ रहेको छ।
यस पहलमार्फत बाढी प्रभावित परिवारका तत्कालीन आवश्यकतालाई सम्बोधन गर्नुका साथै उनीहरूलाई आपत्कालीन राहतबाट सुरक्षित आवास, पुनर्स्थापना तथा दीर्घकालीन सामुदायिक उत्थानशीलतातर्फ अघि बढ्न आवश्यक सहयोग उपलब्ध गराइने चौधरी फाउन्डेसन तथा नबिल बैंकका अध्यक्ष निर्वाण चौधरीले जानकारी दिए।
कार्यक्रमको पहिलो चरणअन्तर्गत चौधरी फाउन्डेसन र नबिल बैंकले प्रभावित परिवारलाई खाद्यान्न, आवश्यक खोप तथा स्वास्थ्य सामग्री उपलब्ध गराउँदै आएको र यो कार्यलाई निरन्तरता दिने जनाएका छन्। राहत प्याकेजमा तयार खाना, खानेपानी, बिस्कुट, लत्ताकपडा, तिरपाल, व्यक्तिगत सरसफाइका सामग्रीलगायत अत्यावश्यक वस्तुहरू समावेश छन्।
पहिलो चरणअन्तर्गतका राहत सामग्री भदौ ११ गतेदेखि प्रभावित क्षेत्रमा पुर्याउन थालिएको हो। यस कार्यका लागि चौधरी फाउन्डेसन र नबिल बैंकका कर्मचारीहरू स्थानीयस्तरमा परिचालित भइसकेको बताइएको छ।
साथै, स्थानीय प्रशासनसँगको सहकार्यमा नुवाकोट र रसुवामा एक-एक गरी दुईवटा व्यवस्थित राहत शिविर स्थापना गरिने अध्यक्ष चौधरीले बताए। उनका अनुसार राहत शिविरमा प्रभावित समुदायलाई दैनिक भोजन उपलब्ध गराइनेछ।
चौधरी फाउन्डेसन र नबिल बैंकले धुलिखेल अस्पतालसँगको सहकार्यमा प्रभावित क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा तथा रोग रोकथामका लागि स्वास्थ्य शिविर सञ्चालन गर्नेछन्। शिविरमा बालबालिकाका लागि सुरक्षित स्थान, स्वच्छ खानेपानी तथा सरसफाइसम्बन्धी आवश्यक सुविधासमेत उपलब्ध गराइने छ।
अध्यक्ष चौधरीका अनुसार बाढीका कारण घर पूर्णरूपमा क्षतिग्रस्त भएका वा बस्न अयोग्य भएका परिवारका लागि ५०० वटा अस्थायी आवास एकाइ निर्माण गर्न सरकार तथा स्थानीय सरकारसँग सहकार्य गरिनेछ।
स्थायी पुनर्निर्माण सम्पन्न नभएसम्म प्रभावित परिवारलाई सुरक्षित, व्यवस्थित तथा सम्मानजनक आवासको व्यवस्था गरिनेछ। यी संक्रमणकालीन आवास एकाइ नेपालमा भूकम्पपीडितका लागि राहत तथा पुनर्स्थापनाका क्रममा चौधरी फाउन्डेसनले प्रयोग गरेको प्रमाणित प्रविधिमा आधारित हुनेछन्।
पुनर्निर्माण प्रयासको एक महत्वपूर्ण हिस्साका रूपमा प्रभावित समुदायका लागि स्थायी आवास तथा आवश्यक सामुदायिक पूर्वाधार निर्माणमा समेत सहयोग गर्ने अध्यक्ष चौधरीले जानकारी दिए।
यसका साथै, दीर्घकालीन प्रतिबद्धताअन्तर्गत संक्रामक रोग रोकथाम तथा नियन्त्रण केन्द्र स्थापना गर्न धुलिखेल अस्पतालसँग सहकार्य गरिने जानकारी दिइएको छ। उक्त केन्द्रले रोगको निगरानी तथा पहिचान, रोकथाममूलक स्वास्थ्य सेवा, जनचेतना अभिवृद्धि तथा बाढी र अन्य विपद्पछि उत्पन्न हुन सक्ने संक्रामक रोग तथा प्रकोपको प्रभावकारी व्यवस्थापनका लागि संस्थागत क्षमता अभिवृद्धिमा योगदान पुर्याउने विश्वास छ।
'हाम्रो तत्कालीन प्राथमिकता जीवनको रक्षा गर्नु र प्रभावित परिवारलाई खाना, आवास, स्वास्थ्य सेवा तथा सम्मान सुनिश्चित गर्नु हो। तर, हाम्रो जिम्मेवारी आपत्कालीन राहतमा मात्र सीमित हुनु हुँदैन। चौधरी फाउन्डेसन र नबिल बैंकबीचको यस साझेदारीमार्फत उद्धार तथा राहतदेखि अस्थायी आवास, स्थायी पुनर्स्थापना र सुदृढ जनस्वास्थ्य तयारीसम्मको सम्पूर्ण यात्रामा हामी प्रतिबद्ध छौँ', अध्यक्ष चौधरीले भने।
चौधरी फाउन्डेसन र नबिल बैंकका अधिकारीहरूले नेपाल सरकार, स्थानीय प्रशासन तथा सम्बन्धित निकाय, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, सामुदायिक संस्था तथा स्वयंसेवकहरूसँग निकट समन्वयमा काम गर्ने उनको भनाइ छ। सबैभन्दा बढी प्रभावित तथा जोखिममा रहेका परिवारसम्म राहत तथा सहायता पारदर्शी, प्रभावकारी र व्यवस्थितरूपमा पुर्याउने उद्देश्य राखिएको उनले बताए।