काठमाडौं- त्रिशुली नदीमा आएको भीषण बाढी र पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्गको धादिङ खण्ड खुलेको छ। सडक विभागले शुक्रबार बेलुका सडक खुलेको जनाएको छ।
निर्माण व्यवसायीका उपकरणहरूसमेत प्रयोग गरी मर्मत कार्यलाई तीव्रता दिइएपछि सडक खुलेको हो। बाढीले पृथ्वी राजमार्गको करिव १५ किलोमिटर सडक खण्डमा क्षति पुर्याएको थियो।
धादिङको गल्छीदेखि मुग्लिनसम्मका विभिन्न स्थानमा थुप्रिएको हिलो र पहिरो पन्छाएर सडक खुलाइएको हो।
सडक विभागका अनुसार राजमार्गका विभिन्न खण्डमा निर्माण व्यवसायीका २५ भन्दा बढी हेभी इक्विपमेण्ट तथा यान्त्रिक उपकरणहरू परिचालन गरिएको छ।
सडक विभागका सिनियर डिभिजन इन्जिनियर सुरेश आचार्यका अनुसार निर्माण व्यवसायीका पर्याप्त हेभी मेसिनरी प्रयोग गरेर बैरेनीको १४ सय मिटर र जरेखेतको ४ सय मिटर सडक खण्डमा जमेको हिलो सफा गरी शुक्रबार दिउँसोदेखि नै यातायात सुरु गरिएको थियो। अहिले अन्य खण्ड पनि खुलेको हो।