बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

भोटेकोशी बाढीले ठप्प रसुवागढी-केरुङ नाका, वैकल्पिक मार्गबाट गाडी भित्र्याउने व्यवसायीको तयारी

‘नाडा अटो शो’मा बुकिङ गरेकालाई दशैँ-तिहारसम्ममा उपलब्ध गराउने

शुक्रबार, भदौ १२ २०८३
भोटेकोशी बाढीले ठप्प रसुवागढी-केरुङ नाका, वैकल्पिक मार्गबाट गाडी भित्र्याउने व्यवसायीको तयारी

नेपालमा चीनबाट विभिन्न ब्राण्डका सवारीसाधन आयात गर्ने व्यवसायीहरू अहिले वैकल्पिक नाका र मार्ग प्रयोग गर्ने तयारी सुरु गरेका छन्।

काठमाडौं- नाडा अटो शो २०२६ को आज चौथो दिन हो। भदौ ९ गतेबाट सुरु भएको अटो शो काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको छ। 

भोटेकोशी बाढीका कारण सर्वसाधारणसँगै अटोमोबाइल्स क्षेत्र पनि प्रभावित बनेको छ। यद्यपि, आर्थिक गतिविधि चलायमान बनाउन व्यवसायीहरुले कठिन समयमा पनि अटो शोलाई निरन्तरता दिइ नै रहेका छन्।

रसुवागढी-केरुङ नाका जोड्ने सडक बाढीका कारण क्षतिग्रस्त भएपछि चीनबाट नेपाल भित्रिने विद्युतीय सवारीसाधन (ईभी) को आपूर्ति प्रभावित हुने चिन्ता गाडी बुकिङ गर्नेहरुमा देखिएको छ। तर, व्यवसायीहरु चाडपर्व आउन समय बाँकी रहेको कारण गाडी ल्याएर दिन सक्ने कुरामा ढुक्क देखिन्छन्।

व्यवसायीहरूले नाडा अटो शोमा बुकिङ भएका सवारीसाधनलाई वैकल्पिक नाका र मार्ग प्रयोग गरेर नेपालीहरूको प्रमुख चाड दशैँ तथा तिहारसम्म ग्राहकलाई उपलब्ध गराउने बताएका छन्।

भन्सार नाकादेखि बाटोसम्म बगेको कारण केरुङ हुँदै चीनबाट आयात हुने सवारीसाधनको आपूर्ति ठप्प भएको छ। त्यसैले वैकल्पिकरुपमा तातोपानी र कोरोला नाका प्रयोग गरेर गाडी ल्याउने तयारीमा व्यवसायीहरु जुटिसकेका छन्। त्यसैले नाडा अटो शोमा बुकिङ भएका गाडीको डेलिभरीमा ठूलो समस्या नआउने व्यवसायीहरूको दाबी छ।

बजारमा चल्तीको ब्राण्ड दिपलका ईभीहरु थाइल्याण्डबाट आयात हुँदै आएको छ। एमएडब्लू वृद्धिका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर चन्दका अनुसार चाडपर्वलक्षित गाडीहरु आउने क्रममै छन्। दिपलका एसयूभी भारत हुँदै वीरगञ्ज भन्सारबाट नेपाल आउने छन्। 

‘दिपलका गाडी थाइल्याण्डमा उत्पादन हुन्छन् र भारत हुँदै नेपाल आउने छन्। त्यसैले नाडा अटो शोमा बुकिङ भएका सबै गाडी तिहारभित्र ग्राहकलाई उपलब्ध गराउँछौँ’, सीईओ चन्दले भने।

अहिले अटो शोमा सर्वाधिक चासो र चर्चामा रहेको नामी भिगो पनि चाडपर्वको समयमा आउने एमएडब्लु ग्रुपका कार्यकारी निर्देशक मिलनबाबु मल्लले जानकारी दिए। ‘हाम्रो करिब १५० वटा नामी ब्राण्डका ईभी रसुवा भन्सार क्षेत्रमा बाढीले बगाएको छ’, मल्लले भने, ‘अब नाडा अटो शोमा बुकिङ भएका तथा आगामी दिनमा बुकिङ हुने गाडी वैकल्पिक मार्ग प्रयोग गरेर नेपाल ल्याउनेछौँ।’

नेपालमा चीनबाट विभिन्न ब्राण्डका सवारीसाधन आयात गर्ने व्यवसायीहरू अहिले वैकल्पिक नाका र मार्ग प्रयोग गर्ने तयारी सुरु गरेका छन्। 

सीजी मोटर्सले आयोन र रिडारा, जगदम्बा मोटर्सले प्रोटोन, पारामाउन्ट मोटर्सले एमजी र विलिङ तथा एसपीजी अटोमोबाइल्सले ओमोडा, जेको, चेरी क्यू र आइकार जस्ता ब्राण्ड चीनबाट आयात गर्दै आएको छ। 

त्यसैगरी भिजी इम्पेक्सले ग्रेटवाल मोटर्सका उत्पादन ल्याएको छ। एलआरआर ग्रुपले स्काइवेल र जिली ब्राण्डका ईभी ल्याएका छन्। केई, बीएआइसी र आर्कफक्स जस्ता ब्राण्ड लक्ष्मी ग्रुपले चीनबाट आयात गर्दै आएको छ। 

सबै व्यवसायीले नाडा अटो शोमा ग्राहकले गरेको बुकिङलाई प्रभावित हुन नदिने र वैकल्पिक मार्ग प्रयोग गरेर भए पनि दशैं–तिहारको बजारलाई लक्षित गरी गाडी उपलब्ध गराउने तयारी थालेका छन्। 

भदौ ९ गतेदेखि सुरु भएको 'नाडा अटो शो २०२६' १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा चल्ने छ।


प्रकाशित : शुक्रबार, भदौ १२ २०८३१४:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend