काठमाडौं- त्रिशुली नदीमा आएको भीषण बाढी र पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्गको धादिङ खण्ड खुलाउन निर्माण व्यवसायीका उपकरणहरू प्रयोग गरी मर्मत कार्यलाई तीव्रता दिइएको छ। बाढीले पृथ्वी राजमार्गको करिव १५ किलोमिटर सडक खण्डमा क्षति पुर्याएको छ।
धादिङको गल्छीदेखि मुग्लिनसम्मका विभिन्न स्थानमा थुप्रिएको हिलो र पहिरो पन्छाउने कार्य जारी रहेको हो। सडक विभागकाअनुसार राजमार्गका विभिन्न खण्डमा निर्माण व्यवसायीका २५ भन्दा बढी हेभी इक्विपमेण्ट तथा यान्त्रिक उपकरणहरू परिचालन गरिएको छ।
सडक स्तरोन्नतिको काममा प्रयोग भइरहेका निर्माण व्यवसायीका पिच प्लान्ट र अन्य उपकरणहरू समेत बाढीले बगाएको छ।
सडक विभागका सिनियर डिभिजन इन्जिनियर सुरेश आचार्यले सडक विभागसँग पहिरो पन्छाउने अनुभव भएपनि हिलो र लेदो व्यवस्थापनमा केही जटिलता आएको बताए। उनका अनुसार निर्माण व्यवसायीका पर्याप्त हेभी मेसिनरी प्रयोग गरेर बैरेनीको १४ सय मिटर र जरेखेतको ४ सय मिटर सडक खण्डमा जमेको हिलो सफा गरी यातायात सुरु गरिसकिएको छ।
जरेखेत क्षेत्रमा सवारी आवागमनमा अझै केही समस्या रहेको र पोखरे, बाँगे तथा गलौँदी क्षेत्रको करिब ७ सय मिटर सडकमा यातायात सञ्चालन हुन बाँकी रहेको छ।
सडक स्तरोन्नतिको जिम्मेवारी पाएको शर्मा–लामा जेडआईइसी कम्पनीको उपकरणहरू परिचालन गरी अवरोध हटाउने कार्य भइरहेको छ। इन्जिनियर आचार्यले आज शुक्रबार साँझसम्म पृथ्वी राजमार्ग पूर्णरूपमा सञ्चालनमा आउने अपेक्षा गरिएको जानकारी दिए।