काठमाडौं- देशभर नवयज्ञोपवीत (जनै) तथा रक्षाबन्धन धारण गरी आज जनैपूर्णिमा पर्व मनाइँदैछ। श्रावण शुक्ल पूर्णिमाका अवसरमा वैदिक सनातन धर्मावलम्बीले बिहानै नदी, ताल, तलाउ, पोखरी तथा कुण्डमा स्नान गरी गुरु–पुरोहितबाट रक्षासूत्र बाँध्ने तथा नयाँ जनै धारण गर्ने परम्परा छ।
धार्मिक परम्पराअनुसार गुरु–पुरोहितले वैदिक विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत तथा डोरो (रक्षासूत्र) धारण गर्दा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने विश्वास गरिन्छ। मानव रक्षाका लागि जप, तप तथा पूजा गरी मन्त्रिएको रक्षासूत्र वैदिक मन्त्रोच्चारणसहित ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने चलन छ।
जनैपूर्णिमाका दिन ब्राह्मण, क्षेत्री र वैश्य समुदायका तागाधारीले पुरानो जनै फेरेर नयाँ यज्ञोपवीत धारण गर्ने धार्मिक विधान छ। यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाक मात्र खाएर चोखोनितो भई व्रत बस्ने परम्परा छ। पूर्णिमाका दिन बिहान स्नान गरी जौँ, तिल र कुशद्वारा ऋषिहरूलाई तर्पण गरेपछि वैदिक विधिबाट मन्त्रिएको नयाँ जनै धारण गरिन्छ।
अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा तथा तर्पण गरिने भएकाले जनैपूर्णिमालाई ऋषितर्पणी पनि भनिन्छ।
वैदिक गुरु परम्परामा यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र तथा ज्ञानको धागोका रूपमा लिइन्छ। रक्षाबन्धन बाँध्न तथा नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायक, वाग्मती नदी किनार तथा काठमाडौं उपत्यकासहित देशभरका मठमन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ।
जनैपूर्णिमाको अर्को प्रमुख विशेषता क्वाँटी हो। एघार थरीका गेडागुडी मिसाएर भिजाई टुसा उमारेर बनाइएको क्वाँटीको रस खाने परम्परा छ। क्वाँटी खाँदा शरीरमा रोग प्रतिरोधी क्षमता बढ्ने, पाचन प्रणालीलाई फाइदा पुग्ने तथा वर्षायाममा खेतीपातीका क्रममा शरीरमा लागेको चिसो हटाएर ताप सञ्चार गर्न सहयोग पुग्ने धार्मिक तथा आयुर्वेदिक मान्यता छ।
तराई क्षेत्रमा भने जनैपूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको नाडीमा राखी बाँधेर पर्व मनाउने चलन छ। यसले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयता अझ प्रगाढ हुने सामाजिक विश्वास छ। पछिल्लो समय राखी बाँध्ने परम्परा पहाडी क्षेत्रमा पनि विस्तार हुँदै गएको छ।
जनैपूर्णिमाका अवसरमा काठमाडौंको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर तथा गङ्गासागर, जुम्लाको दानसाधु र नवलपरासीको त्रिवेणीधामलगायतका धार्मिक तथा पर्यटकीय स्थलमा बिहानैदेखि मेला लाग्ने गर्छ। रासस