काठमाडौं- रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि अप्पर त्रिशूली हाइड्रोपावरको टनेलभित्र फसेका ३५० जना मजदुर तथा स्थानीयको नेपाली सेनाले सफलतापूर्वक उद्धार गरेको छ। प्रतिकूल मौसम, तीव्र बाढीको बहाव र अत्यन्त जोखिमपूर्ण परिस्थितिका बीच सेनाले उनीहरूलाई सुरक्षित स्थानमा ल्याएको हो।
टनेलभित्र अझै १०० जनाभन्दा बढी मानिस फसेको जानकारीपछि उनीहरूको उद्धारका लागि पनि नेपाली सेनाको टोली निरन्तर परिचालन भइरहेको छ। जटिल भूगोल र जोखिमपूर्ण अवस्थाका बीच उद्धार अभियानलाई तीव्र पारिएको सेनाले जनाएको छ।
टनेलभित्रको उद्धारका लागि नम्बर १ सेकेन्ड मुभमेन्ट ट्याक्टिकल हेडक्वार्टर, त्रिशूलीबाट जमदार भक्तजन बस्नेतको कमाण्डमा १/३ को सैन्य टोली अहोरात्र खटिएको छ।
यसैबीच, बाढीको उच्च जोखिममा परेका रसुवाका अन्य क्षेत्रमा पनि नेपाली सेनाले उद्धार अभियान जारी राखेको छ। सी क्यू आर टी धुन्चे ब्यारेकबाट सहसेनानी अभिषेक शाहीको कमाण्डमा परिचालित १/५ को टोलीले स्याफ्रुवेशी, टिमुरे, मैलुङ, ठूलो हाकु र हाकुबेँसीलगायतका विभिन्न स्थानबाट थप ५३३ जना नागरिकलाई सुरक्षित स्थानमा सारेको छ।
नेपाली सेनाका अनुसार आज २०८३ भदौ ११ गते रसुवाका विभिन्न बाढी प्रभावित क्षेत्रबाट गरी कुल ८८३ जना स्थानीय तथा मजदुरको उद्धार गरिएको छ। उच्च जोखिमका बीच सेनाले गरेको उद्धारबाट ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ।