बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

यातायात व्यवसायी भन्छन् - मानसरोवर जाने तीर्थयात्री बोकेका ४० बस सम्पर्कविहीन

बिहीबार , भदौ ११ २०८३
यातायात व्यवसायी भन्छन् - मानसरोवर जाने तीर्थयात्री बोकेका ४० बस सम्पर्कविहीन

यात्रुवाहक तथा मालवाहक सवारीसाधनमा व्यापक क्षति हुनुका साथै चालक, सहचालक र सवारी मजदूरसमेत सम्पर्कविहीन अवस्थामा रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ।

काठमाडौं- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले रसुवा बाढीका कारण मानसरोवर जाने तीर्थयात्री बोकेका ४० बस सम्पर्कविहीन भएको बताएका छन्। 

‘नेपाल अरनीको यातायात सेवा प्रालिका मानसरोवर यात्रामा निस्केका तीर्थयात्रीलाई बोकेका २५ वटा बसहरु अहिलेसम्म कहाँ, कुन अवस्थामा छन् भन्ने कुराको यकिन भएको छैन। ती सवारीसाधाहरुमा कम्तिमा पनि ५० जना स्टाफ रहनुभएको थियो। उहाँहरु अझै सम्पर्कविहीन हुनुहुन्छ। यस्तै नेपाल नमस्ते पासाङ ल्हामु यातायात कम्पनी प्रालिका १५ वटा सवारीसाधन र ती सवारीसाधनमा रहेका यात्रुहरुको अवस्थाबारे समेत हामीलाई अहिलेसम्म कुनै जानकारी आएको छैन' उनले भने। 

यात्रुवाहक तथा मालवाहक सवारीसाधनमा व्यापक क्षति हुनुका साथै चालक, सहचालक र सवारी मजदूरसमेत सम्पर्कविहीन अवस्थामा रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ।

सिटौलाले बाढीबाट सार्वजनिक सवारीमा पुगेको क्षतिको यकिन विवरण प्राप्त भइनसकेको बताए। क्षतिको प्रारम्भिक विवरण आउने क्रम जारी रहेको उनको भनाइ छ।

महासंघको आपतकालीन कार्यसमिति बैठकले बाढीबाट क्षति पुगेका सवारीसाधनको विवरण संकलन गर्न केन्द्रिय कोषाध्यक्ष राजेन्द्र आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। बाढीपीडित यातायात व्यवसायी तथा मजदूरको अवस्था पहिचान गरी आवश्यक सहयोग उपलब्ध गराउन राज्य संयन्त्रसँग आवश्यक समन्वय गर्नेगरी समिति गठन गरिएको उनले जानकारी दिए।

नुवाकोट क्षेत्रमा ठूलो संख्यामा बस, माइक्रोबस तथा मालवाहक ढुवानीका सवारीसाधन प्रभावित भएको तथा ती सवारीमा कार्यरत चालक, सहचालक र मजदूरको अवस्था समेत अझै अज्ञात रहेको उनले बताए। 

बुधबार बिहान तिब्बततर्फबाट आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवनलगायत तल्लो तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति गरेको छ। विपद्पछिको खोज तथा उद्धार, राहत र पुनर्स्थापनाका लागि राज्य संयन्त्र परिचालित छन्।


प्रकाशित : बिहीबार , भदौ ११ २०८३१८:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend