गोरखा- भोटेकोशी बाढीमा परी गोरखाका जिल्लाका ५५ व्यक्ति सम्पर्कविहीन भएका छन्।
पालुङटार नगरपालिकाका ३१, सहिदलखनका सात, धार्चेका चार, भीमसेन थापाका तीन, बारपाक सुलिकोटका ६ र सिरानचोकका दुई र आरुघाट गाउँपालिकाका तीनजना बेपत्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए।
बाढीमा परेर पालुङ्टार नगरपालिका-५ ठाँटीपोखरीबाट गोसाइँकुण्ड यात्रामा गएका ३१ यात्रुहरु बुधबार बिहानदेखि सम्पर्कविहीन भएको पालिकाकी उपप्रमुख बन्दना पाण्डेले बताइन्। ग२ख ११५२ नम्बरको बसमा सवार ३७ यात्रुमध्ये ६ जना झ्यालबाट हामफालेर सुरक्षित रहेको र बाँकीको अवस्था भने अज्ञात रहेको उनले जानकारी दिइन्।
रसुवाको बाढीमा परेर सहिदलखन गाउँपालिकाका सातजना सम्पर्कविहीन बनेको पालिका अध्यक्ष रमेश थापा मगरले बताए। 'बाढी प्रभावित क्षेत्रमा डोजर अपरेटरका रुपमा कार्यरत पालिकाको वडा नं १ का एक, वडा नं ३ का एकजना ट्रक डाइभर, विद्युतको काम गर्ने वडा नं ६ का एक, वडा नं ७ घर भएका एकजना होटल व्यवसायी र अर्को एकजना ट्रेकिङ व्यवसायी र वडा नं ८ घर भएका दुईजना ट्रेकिङ व्यवसायीहरु सम्पर्कविहीन छन्', थापाले भने।
धार्चे गाउँपालिका-४ लाप्राकका चारजना पनि रसुवा बाढीमा परेर बेपत्ता भएका पालिका अध्यक्ष लक्ष्मण गुरुङले बताएका छन्। लाप्राक घरभइ रसुवामा सशस्त्र प्रहरीमा कार्यरत एकजना र अलपाइन इको ट्रेकिङ कम्पनीमा कार्यरत तीनजना पर्यटक सहयोगी बेपत्ता भएका गुरुङले जानकारी दिए।
भीमसेन थापा गाउँपालिकाका तीनजना नागरिक रसुवा बाढीमा परेर सम्पर्कविहीन बनेको अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए। भीमसेन थापा वडा नं ३ घर भई रसुवामा सरकारी कर्मचारीका रुपमा कार्यरत एक र वडा नं ६ र १ का एक/एक जना ट्रेकिङ व्यवसायीको अवस्था अज्ञात रहेको उनको भनाइ छ।
बारपाकसुलिकोट गाउँपालिकाका ६ जना बाढीमा बेपत्ता भएका पालिका अध्यक्ष विष्णु भट्टले बताए। बारपाकसुलिकोट-४ का तीनजना रसुवा बाढीमा बेपत्ता भएका छन्। उनीहरुमध्ये एकजना नेपाली सेना र अन्य दुईजना पर्यटन मजदुर रहेका अध्यक्ष भट्टले जानकारी दिए।
उनका अनुसार वडा नं ३ र ६ का एक/एक जना पर्यटन मजदुर बेपत्ता भएका छन्। 'वडा नं ५ को पनि एकजना बेपत्ता छन् भन्ने खबर आएको छ। उनी अपर त्रिशूली हाइड्रोपावरमा काम कार्यरत्त थए', उनले भने।
यस्तै, सिरानचोक र आरुघाट गाउँपालिकाका दुई-दुई जना नागरिकहरु रसुवा बाढीपछि सम्पर्कविहीन बनेका पालिकाका प्रमुखहरुले जानकारी दिए।
सिरानचोकको वडा नं ८ र वडा नं ५ का १/१ जना सम्पर्कविहीन छन्। उनीहरु रसुवागढी हाइड्रोपावरमा कार्यरत रहेका पालिकाको प्रमुख प्रशासकीय अधिकृत ठाकुरप्रसाद अर्यालले बताए।
'आरुघाटको वडा नं ९ का एकजना ड्राइभरका रुपमा पर्यटक लिन स्याफ्रुबेँसी पुगेका एकजना सम्पर्कविहीन छन्', पालिका अध्यक्ष राजु गुरुङले भने, 'अर्को वडा नं ३ का एकजना रसुवामा मजदुर काम गर्ने पनि बेपत्ता छ भन्ने खबर आएको छ। हामीले उनीहरुको अवस्थाबारे बुझ्न खोजिरहेका छौँ।'
बुधबार बिहान ९ बजे तिब्बती क्षेत्रबाट भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन आसपासको क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। रासस