काठामाडौं- रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत भन्सार अधिकृत करवीर गैरेका बुधबारको बिहान पनि सामान्य कार्यदिन जस्तै थियो। बिहान साढे ७ बजे नै कार्यालय पुगिसकेका गैरे आफ्नो कार्यकक्षमा व्यस्त थिए। तर ८ बज्न १४ मिनेट बाँकी रहँदा सुरु भएको एउटा प्राकृतिक विपत्तिले उनको जीवन र टिमुरेको भूगोललाई सधैँका लागि बदलिदियो।
अधिकृत गैरेका अनुसार बिहान ८ः४६ बजेतिर अचानक उनको कार्यकक्षमा रहेको कम्प्युटर थर्कन थाल्यो। सुरुमा उनलाई भूकम्प आएको आभास भयो। ज्यान जोगाउन बाहिर निस्कने क्रममा उत्तरतर्फ (चीनतर्फ) नजर पर्दा उनी स्तब्ध भए।
‘मैले उत्तरतिर हेर्दा सुनामी जस्तै मडारिएर आएको बाढी देखेँ। गत वर्षको बाढी खोलाको सतहभन्दा २० मिटर माथि थियो भने यसपालि बाढीको लेभल नदीको आधार सतहबाट करिब १०० मिटर माथि थियो’ उनले कहालीलाग्दो दृश्य सम्झिए।
उनले बाढी देख्नेबित्तिकै सहकर्मीहरूलाई ‘बाढी आयो, भागौँ’ भन्दै सतर्क गराएँ। भाग्ने क्रममा १० सेकेण्डभित्रै पछाडि फर्केर हेर्दा पूरै क्षेत्र कुहिरो र धुलोले ढाकिएको थियो, केही देखिने अवस्था थिएन।
बाढीको प्रकृति यति विध्वंशकारी थियो कि त्यसले टिमुरे बजारको अस्तित्व नै संकटमा पारिदिएको छ। गैरेका अनुसार गोसाइँकुण्ड गाउँपालिका-२ स्थित टिमुरेमा रहेका करिव २ सय घरधुरीमध्ये ४० देखि ५० वटा पक्की घरहरू (४-५ तलासम्मका) पूर्णरूपमा ध्वस्त भएका छन्।
भौतिक क्षतिको विवरण दिँदै उनले भने, ‘मुख्य भन्सार कार्यालय, प्लान्ट क्वारेन्टाइन, इलाका प्रहरी कार्यालय लगायतका सरकारी संरचनाहरू अहिले नामनिसान नहुने गरी बगेका छन्। पहाडको माथिल्लो भागमा रहेको सशस्त्र प्रहरीको बीओपीबाहेक तल्लो क्षेत्रका कुनै पनि संरचना बाँकी रहेनन्।’
त्यहाँ रहेको एउटा विद्यालय समेत बाढीले सोत्तर पारेको उनले बताए।
विपद्को समयमा टिमुरे र रसुवागढी क्षेत्रमा मानिसहरूको बाक्लो उपस्थिति थियो।
अधिकृत गैरेका अनुसार उक्त समयमा भन्सार एजेन्ट, मजदूर, होटल व्यवसायी, रसुवागढी-स्याफ्रुबेँसी सडक खण्डका कामदार र मानसरोवर तीर्थयात्री गरी करिव २ हजारभन्दा बढी मानिस त्यस क्षेत्रमा रहेको अनुमान छ।
‘४०० देखि ५०० को हाराहारीमा तीर्थयात्री र करिव १५० वटा मालवाहक कन्टेनर तथा इभी गाडीहरू त्यस क्षेत्रमा थिए’ उनले भने, ‘१०-१५ सेकेण्डको छोटो अवधिमा जसले २० मिटर जति उकालो उक्लन सके, उनीहरू मात्र बाँच्न सफल भए। बाँकी धेरै मानिस बेपत्ता छन्।’
विगतका वर्षहरूमा चिनियाँ पक्षले बाढीको पूर्वसूचना दिने गरेको भएपनि यसपटक कुनै जानकारी प्राप्त नभएको गैरेले बताए।
‘यसपालि सूचनाभन्दा पहिला बाढी आइपुग्यो। चिनियाँ क्षेत्रमा रहेका गेट र संरचनाहरू समेत ध्वस्त भएकाले उनीहरू आफैँ पनि चकित परेको र सूचना दिन नभ्याएको देखिन्छ’ उनले स्पष्ट पारे।
चीनतर्फ पनि ठूलो क्षति भएको र त्यहाँका कर्मचारीहरू समेत प्रभावित भएको उनको बुझाइ छ।
मृत्युको मुखबाट जोगिएर डाँडातिर उक्लिएका गैरे र उनको टोली पछि सुरक्षित स्थानको खोजीमा तीन किलोमिटर माथि खैरी पुगेको थियो। बाढी भित्तामा ठक्कर खाएर फर्किएका कारण आफूहरू भागेर बाँच्न सफल भएको उनी बताउँछन्।
दिउँसो साढे २ बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत त्रिशुली पुर्याइएका उनीहरू त्यहाँको प्राथमिक स्वास्थ्य जाँचपछि सोही दिन राति साढे ९ बजे काठमाडौं आइपुगेका थिए। काठमाडौं आइपुग्दा भन्सार विभागमा अर्थमन्त्री, अर्थसचिव र भन्सार महानिर्देशकले उनीहरूलाई स्वागत गर्दै ढाडस दिएका थिए।
‘हिजोसम्म सँगै काम गरेका साथीहरू र देखेको बजार क्षणभरमै बिलायो। जिन्दगीको केही भरोसा रहेनछ, हामीले नयाँ जीवन पाएर फर्किएका छौँ’ उनले भावुक हुँदै भने।
हाल बेपत्ताहरूको खोजी र उद्धार कार्य जारी रहे पनि भौगोलिक विकटता र सडक सञ्जाल विच्छेद भएका कारण कठिनाइ भइरहेको छ।