काठमाडौं- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वदेश तथा विदेशबाट सहज रूपमा सहयोग रकम पठाउन नयाँ अनलाइन भुक्तानी पोर्टल सञ्चालनमा आएको छ। पोर्टलमार्फत नेपाली तथा विदेशी नागरिक र संघसंस्थाले अन्तर्राष्ट्रिय कार्डसहित विभिन्न डिजिटल माध्यमबाट सिधै राहत कोषमा रकम जम्मा गर्न सक्नेछन्।
नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि तयार गरिएको पोर्टल pmdrf.nchl.com.np मार्फत विदेशमा रहेका नेपाली र अन्तर्राष्ट्रिय दाताले पनि अनलाइनबाट सहयोग गर्न सक्ने व्यवस्था गरिएको हो।
पोर्टलमा स्वदेशी तथा अन्तर्राष्ट्रिय भिसा र मास्टरकार्डका डेबिट तथा क्रेडिट कार्डमार्फत रकम पठाउन सकिनेछ। नेपालभित्र रहेका दाताका लागि नेपालपे क्यूआर, मोबाइल बैंकिङ, कनेक्टआईपीएस र डिजिटल वालेटबाट पनि सहयोग रकम पठाउने सुविधा राखिएको छ।
त्यस्तै, अलिपे प्लसमार्फत पनि भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ। अनलाइन कारोबारको सुरक्षाका लागि थ्रीडी सेक्योर भेरिफाइड प्रविधि प्रयोग गरिएको पोर्टलमा उल्लेख छ।
बाढी, पहिरो र डुबानलगायत प्राकृतिक विपद्का बेला खोज, उद्धार, राहत र पुनःस्थापनाका लागि आवश्यक रकम जुटाउन यो प्रणाली उपयोगी हुने अपेक्षा गरिएको छ। यसअघि राष्ट्र बैंकले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका तोकिएका खातामा डिजिटल माध्यमबाट रकम पठाउँदा कारोबार सीमा नलाग्ने व्यवस्था गरेको थियो।
नयाँ पोर्टल सञ्चालनमा आएपछि विदेशमा रहेका नेपाली तथा अन्तर्राष्ट्रिय दातालाई नेपाल सरकारको राहत कोषमा सहयोग रकम पठाउन थप सहज हुने भएको छ।