काठमाडौं- भोटेकोशी बाढीका कारण मानवीय र भौतिक संरचनामा क्षति पुग्नुका साथै रसुवा, धादिङ, नुवाकोट र चितवन जिल्लामा सञ्चालित दूरसञ्चार सेवाहरु प्रभावित भएका छन्। नेपाल टेलिकमले प्रभावित विभिन्न स्थानमा सेवा सुचारु गर्नका लागि आवश्यक मर्मतसम्भार काम जारी राखेको जनाएको छ।
रसुवाका विभिन्न स्थानमा सेवा सञ्चालन गर्नको लागि न्यौपानेचौर तथा राम्चे रिपिटर साइटमा हेलिकप्टरबाट जेनेरेटर तथा ब्याट्रीलगायतका उपकरणहरु पठाइ सेवा सुचारु गरिएको टेलिकमले जानकारी दिएको छ।
न्यौपानेचौर तथा राम्चे आसपासका केस्पाङ (काउले), ठुलेगाउँ, तादी, फिकुरी, कालिकास्थान, ग्राङ, डाँडागाउँ, मैलुङ, पाङसाङ डाँडा, लाङटाङ, क्याङ्जिनलगायतका क्षेत्रहरुमा सेवा सुचारू गरिएको छ। धुन्चेमा सेवा सञ्चालनका लागि जेनेरेटर, इन्धन तथा कर्मचारी परिचालन गरिएको छ।
टेलिकमका अनुसार नुवाकोटको मदनपुर, बट्टार, बिदुर बसपार्क तथा धादिङको बैरेनी ठमेल डाँडामा जेनेरेटर, इन्धन सहित कर्मचारीहरु परिचालन गरी सेवा सुचारु हुने क्रममा रहेको छ। प्रभावित क्षेत्रका मुख्य प्राथमिकता प्राप्त साइटहरु अनवरत रुपमा सञ्चालनमा ल्याउनका लागि जेनेरेटर, इन्धन तथा कर्मचारीहरु परिचालन गरिएको छ।
साथै, हाल सञ्चालनमा रहेका ती जिल्लाका अन्य बीटीएसहरुमा कभरेज र क्षमता विकास तथा अप्टिमाइज गरी प्रभावकारी रुपमा सेवा सञ्चालन गर्ने काम भइरहेको टेलिकमले जनाएको छ।
चितवनका ५ मध्ये ३, धादिङका ३६ मध्ये १३, नुवाकोटका ७९ मध्ये ३१ र रसुवाका ३२ मध्ये १३ साइट गरी समग्रमा प्रभावित देखिएका १५२ साइट मध्ये ६० साइट भने सञ्चालनमा आउन बाँकी छन्। बाँकी साइटसमेत सञ्चालनमा ल्याउनका लागि आवश्यक काम भइरहेको छ।