काठमाडौं- बुधबार बिहान हिम चट्टान झरेर नेपाल-चीन सीमाको ल्हेन्दे खोलामा आएको बाढी भोटेकोशी हुँदै त्रिशुलीमा पुग्दा सयौँ बस्ती उजाड बन्यो। मानवीय र भौतिक क्षतिको विवरण आउने क्रम चलिरहँदा त्यो त्रासदीबाट बाँचेर निस्कन सफलहरूले कहालीलाग्दो दु:ख सुनाइरहेका छन्।
प्लानेट ल्याब्सको स्याटेलाइट तस्बिरको विश्लेषणका आधारमा गरिएको प्रारम्भिक अध्ययनबाट नेपाल-चीन रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्व नेपाल-चीन सिमानामा गएको हिमचट्टान पहिरोका कारण ल्हेन्दे खोलामा गेग्य्रानसहितको बाढी आएको र टिमुरे हुँदै उक्त बाढी त्रिशूली नदीमा प्रवेश गरेको देखिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको आकस्मिक बाढीका कारण रसुवासहित नुवाकोट, धादिङ र गोरखा हुँदै बग्ने त्रिशुली नदीतटीय क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति भएको छ। नुवाकोट त्रिशुली बजार र बेत्रावतीमा क्षतिको विवरण ठूलो छ।
त्यही बाढीमा बेत्रावती नजिकबाट जोगिएर भाग्न सफल भएका गोरखाका लक्ष्मण सापकोटा त्यो त्रासदीलाई सम्झँदै भन्छन्, 'दुई मिनेटले गर्दा हामी जोगियौँ। नयाँ जीवन पाएका छौँ। ठूलो संघर्ष गरेर हामी काठमाडौं प्रवेश गरिसकेका छौँ।'
लक्ष्मणसहितको टोली गोसाइँकुण्ड यात्रामा गल्छी हुँदै बेत्रावतीतर्फ बढिरहँदा बाढी आएको थियो। जसले उनीहरू सवार गाडीभन्दा अगाडीका गाडी बाढीमा पर्दा उनीहरू भने भागेर जोगिन सफल भए।
'गोसाइँकुण्ड जाने क्रममा दोलखाको चार जना, चितवनका १६ जना र गोरखा फुजेलका हामी १० जना थियौँ। हामी सवार गाडी गल्छीबाट अगाडि बढेर बेत्रावती पुग्न लाग्दा रसुवापट्टीबाट बाढी आएको हामीले देख्यौँ' घटनाको बयान गर्दै उनी सुनाउँछन्, 'हामीभन्दा अघि गोरखा पालुङटारबाट गएको बस र चितवनबाट गएको माइक्रो बाढीमा परेर बगेको देख्यौँ। केही समयले गर्दा हामीले बाढीमा आएको लेदोले भेट्न सकेन र भाग्न सफल भयौँ। डाँडातिर चढेर हामीले ज्यान जोगायौँ।'
बुधबार बिहान रसुवास्थित भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखा सबैभन्दा बढी प्रभावित भए। बाढीको प्रत्यक्ष असर चितवनसम्मै पुग्यो। मानवीय क्षतिका दृष्टिकोणबाट सिंगो मुलुक स्तब्ध छ।
चीनसँगको सीमा नाका, गोसाइँकुण्ड मेला र मानसरोवर जाने मार्गका रुपमा समेत रहेकाले सयौँको सङ्ख्यामा पर्यटक सम्पर्कविहीन हुँदा बाढीको उक्त घटना विश्वव्यापी चासोको विषय बनेको छ।
बाढीग्रस्त क्षेत्रमा अहिले प्रभावितको उद्धार, हराइरहेका नागरिकको खोजी तथा उद्धार गरिएका व्यक्तिको पुनःस्थापना भइरहेको छ।