काठमाडौं- कुमारी बैंक लिमिटेडले देशका विभिन्न जिल्लामा आएको बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ३ करोड ३९ लाख रुपैयाँ बराबरको सहयोग गरेको छ।
बैंकले ३ करोड रुपैयाँ नगद आर्थिक सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ। यसका साथै विपद् प्रभावित क्षेत्रमा खोज, उद्धार तथा अनुगमन कार्यलाई थप प्रभावकारी बनाउन करिब ३९ लाख रुपैयाँ बराबरका प्रविधि तथा उपकरणहरू नेपाली सेनालाई हस्तान्तरण गरेको छ।
जसमा ५ वटा अत्याधुनिक एआई जडित निगरानी ड्रोन, ३ वटा ५ केभीए क्षमताका पोर्टेबल जेनेरेटर तथा १०० वटा पावर बैंक रहेका छन्। यी सामग्रीहरू हस्तान्तरणका लागि नेपाली सेनाको नुवाकोटस्थित क्याम्पमा पठाइएको बैंकले जनाएको छ।
हालैको बाढी र पहिरोजस्ता विपद्बाट रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन लगायतका जिल्लाहरू बढी प्रभावित भएका छन्। प्रभावित परिवारहरूलाई तत्काल राहत, खाद्यान्न, अस्थायी आश्रय तथा अन्य आवश्यक मानवीय सहायता उपलब्ध गराउन नेपाल सरकारसँग समन्वय गरी यो सहयोग प्रदान गरिएको हो।
कुमारी बैंकले विपद् तथा मानवीय संकटको समयमा समुदायप्रति आफ्नो सामाजिक उत्तरदायित्व निरन्तर निर्वाह गर्दै आएको छ। यस सहयोगले प्रभावित समुदायको राहत, उद्धार र पुनर्स्थापना कार्यमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।
विपद्को यस कठिन घडीमा बैंकले प्रभावित समुदायप्रति गहिरो दुःख व्यक्त गर्दै सम्बन्धित निकायहरूलाई उद्धार र राहत कार्य थप दु्रत गतिमा अगाडि बढाउन आग्रह गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता भएकाहरूको सुरक्षित खोज तथा उद्धारको कामना समेत गरेको छ।