काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघले बाढी प्रभावितको उद्धार तथा राहत कार्यमा जुट्न सम्पूर्ण उद्योगी व्यवसायीलाई अपिल गरेको छ। महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले विज्ञप्ति जारी गर्दै विपद्को समयमा हातेमालो गरी अगाडि बढ्न अनुरोध गरेका हुन्।
बुधबार रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका तटीय क्षेत्रमा जनधनको ठूलो क्षति भएको छ। क्षतिप्रति दु:ख व्यक्त गर्दै महासंघले बेपत्ता नागरिक तथा व्यवसायीहरूको तत्काल खोजी, उद्धार र सुरक्षित स्थानान्तरणका लागि सम्बन्धित सबै निकायसँग आग्रह गरेको छ।
त्रिशूली नदी तथा यससँग जोडिएका तटीय क्षेत्रमा जोखिम अझै कायम रहेको भन्दै जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण, जोखिमपूर्ण क्षेत्रमा आवागमन नियन्त्रण तथा पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउनसमेत महासंघको आग्रह छ।
सम्भव भएसम्म खाद्यान्न, पिउने पानी, औषधि, लत्ताकपडा तथा अन्य अत्यावश्यक राहत सामग्रीको व्यवस्थापन गरी प्रभावित परिवारसम्म सुरक्षितरूपमा पुर्याउन निजी क्षेत्रको सम्पूर्ण सामर्थ्य परिचालन गर्न पनि आग्रह छ।
विपद्का कारण उत्पन्न असहज परिस्थितिमा मानवीय संवेदनशीलता र सामाजिक उत्तरदायित्वलाई सर्वोच्च प्राथमिकतामा राख्दै अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति सहज, नियमित र निर्वाध बनाउन तथा यथोचित र स्थिर मूल्य कायम राख्न महासंघको अपिल छ।