काठमाडौं- भोटेकोशी नदीमा आएको बाढीका कारण १२७ जना नेपालीसहित ६६४ पर्यटक सम्पर्कविहीन भएका छन्।
बेपत्तामध्ये सबैभन्दा धेरै भारतीय पर्यटक छन्। १७८ भारतीय पर्यटक सम्पर्कविहीन रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ।
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार ६५ अमेरिकी पर्यटक, युक्रेनका ५३, मलेसियाका ५१, अष्ट्रेलियाका ३५, बेलायतका ३३ र क्यानडाका २५ पर्यटक सम्पर्कविहीन छन्।
सिंगापुरका ९, रुसका ८, जर्मनीका ८ र लात्भिया, दक्षिण अफ्रिकाका ६/६ जना पर्यटक बपत्ता रहेको बोर्डले जनाएको छ। यस्तै, जापानका ५, फ्रान्सका ४, न्युजिल्यान्डका ५, नेदरल्यान्डका ४, पोर्चुगलका २ लगायत ३३ देशका पर्यटक बेपत्ता छन्।
विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङसहितका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। नेपाल प्रहरीको पछिल्लो विवरणअनुसार बाढीमा परी शव फेला पर्नेक्रम सुरु भएको छ। हालसम्म १७७ जनाको मृत्यु भएको छ भने सयौँ मानिस अझै सम्पर्कविहीन छन्।
नदी किनारका कतिपय बस्ती नै बाढीले बगाएपछि वास्तविक मानवीय क्षतिको विवरण अझै यकिन हुन सकेको छैन। बाढीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारी तथा विभिन्न जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीसमेत बेपत्ता भएका छन्।
बाढीबाट रसुवा, नुवाकोट र धादिङमा सबैभन्दा ठूलो क्षति भएको छ। बाढीको प्रभाव तल्लो तटीय क्षेत्रमा समेत फैलिँदा सडक, पुल, जलविद्युत् आयोजना, प्रसारण लाइन, भन्सार, व्यापारिक पूर्वाधार तथा निजी सम्पत्तिमा ठूलो क्षति पुगेको छ।