बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

भोटेकोशी बाढीको महाविनाश : तीन जिल्ला तहसनहस, अर्बौँको भौतिक संरचनामा क्षति

बिहीबार , भदौ ११ २०८३
भोटेकोशी बाढीको महाविनाश : तीन जिल्ला तहसनहस, अर्बौँको भौतिक संरचनामा क्षति

बाढीबाट रसुवा, नुवाकोट र धादिङमा सबैभन्दा ठूलो क्षति भएको छ। बाढीको प्रभाव तल्लो तटीय क्षेत्रमा समेत फैलिँदा सडक, पुल, जलविद्युत् आयोजना, प्रसारण लाइन, भन्सार, व्यापारिक पूर्वाधार तथा निजी सम्पत्तिमा ठूलो क्षति पुगेको छ।

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङसहितका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। नेपाल प्रहरीको पछिल्लो विवरणअनुसार बाढीमा परी शव फेला पर्नेक्रम सुरु भएको छ। भने सयौं मानिस अझै सम्पर्कविहीन छन्।

नदी किनारका कतिपय बस्ती नै बाढीले बगाएपछि वास्तविक मानवीय क्षतिको विवरण अझै यकिन हुन सकेको छैन। बाढीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारी तथा विभिन्न जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीसमेत बेपत्ता भएका छन्। नेपाल प्रहरीले मात्रै २८ जना प्रहरी कर्मचारी सम्पर्कविहीन रहेको जनाएको छ।

बाढीबाट रसुवा, नुवाकोट र धादिङमा सबैभन्दा ठूलो क्षति भएको छ। बाढीको प्रभाव तल्लो तटीय क्षेत्रमा समेत फैलिँदा सडक, पुल, जलविद्युत् आयोजना, प्रसारण लाइन, भन्सार, व्यापारिक पूर्वाधार तथा निजी सम्पत्तिमा ठूलो क्षति पुगेको छ।

bhotekoshi badhi - narayani.jpg

पूर्वाधारमा मात्रै २ खर्बभन्दा बढी क्षति

सरकारको प्रारम्भिक अनुमानअनुसार बाढीबाट पूर्वाधार क्षेत्रमा मात्रै २ खर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ। सडक तथा पुल पुनर्निर्माणलाई तत्काल प्राथमिकता दिनुपर्ने अवस्था देखिएको छ।

विपद् जोखिम प्राधिकरणको प्रारम्भिक विवरणअनुसार ३५ वटा पक्की पुल र ४५ वटा झोलुङ्गे पुल बाढीले बगाएको छ। बेत्रावतीदेखि रसुवागढीसम्मको करिब ४० किलोमिटर सडक पूर्णरूपमा क्षतिग्रस्त भएको छ।

यसले चीनसँगको स्थल व्यापार र उत्तरी क्षेत्रको यातायात सम्पर्कमा गम्भीर असर पारेको छ।

रसुवागढी भन्सारमा अर्बौँको सामान क्षति

नेपाल-चीन व्यापारको प्रमुख नाका रसुवागढीमा बाढीले ठूलो आर्थिक क्षति पुर्‍याएको छ। रसुवागढी भन्सारको भौतिक संरचना पूर्णरूपमा क्षतिग्रस्त भएको छ भने भन्सार यार्डमा रहेका आयातित सामान, कन्टेनर र विद्युतीय सवारीसाधनसमेत बाढीले बगाएको छ।

व्यवसायीका अनुसार ५ सयदेखि ७ सयसम्म विद्युतीय सवारीसाधन बाढीले बगाएको अनुमान छ। त्यस्तै रसुवागढी नाकामा सामान ढुवानीका लागि पुगेका २ सयभन्दा बढी मालवाहक ट्रक बाढीमा परेको प्रारम्भिक अनुमान छ।

आगामी तीज, दसैँ, तिहार र छठलाई लक्षित गरी चीनबाट आयात गरिएका अर्बौँ रुपैयाँ बराबरका सामानसमेत क्षतिग्रस्त भएका छन्। यसले आयात व्यापार, व्यवसायीको लगानी, बैंकिङ कर्जा, बीमा दाबी र सरकारको राजस्व संकलनमा समेत असर पार्ने देखिएको छ।

bhotekoshi trishuli badi (3).jpg

४०३ पर्यटक सम्पर्कविहीन

बाढीपछि रसुवामा ४०३ जना पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार तीमध्ये ३४१ विदेशी र ६२ नेपाली छन्।

सम्पर्कविहीन विदेशी पर्यटकमध्ये सबैभन्दा धेरै १३३ जना भारतीय छन्। त्यसपछि अमेरिकी ४७, अस्ट्रेलियाली ३४, बेलायती ३३, क्यानडेली २४ र मलेसियाली १९ जना छन्।

कैलाश मानसरोवर यात्रासहित रसुवा हुँदै चीनतर्फ जाने पर्यटकसमेत बाढीबाट प्रभावित भएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समेत सयौं विदेशी पर्यटक सम्पर्कविहीन रहेको उल्लेख गरेका छन्।

ऊर्जा पूर्वाधारमा पनि ठूलो क्षति

बाढीले जलविद्युत् तथा प्रसारण पूर्वाधारमा समेत गम्भीर क्षति पुर्‍याएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार ६ वटा प्रसारण लाइन अवरुद्ध भएका छन्।

त्रिशूलीस्थित २२० केभी ३ बी हब सबस्टेसन पूर्णरूपमा क्षतिग्रस्त भएको छ। चिलिमे–त्रिशूली, समुद्रटार–त्रिशूली, त्रिशूली–बालाजु लगायतका प्रसारण लाइनमा समेत क्षति पुगेको छ।

यसबाट विद्युत् उत्पादन र प्रसारण प्रणालीमा तत्कालीन असर पर्नुका साथै क्षतिग्रस्त संरचना पुनर्निर्माणमा ठूलो लगानी आवश्यक पर्ने भएको छ।

तीन जिल्ला संकटग्रस्त

बाढीको व्यापक क्षतिपछि सरकारले रसुवा, नुवाकोट र धादिङलाई संकटग्रस्त जिल्ला घोषणा गरेको छ। प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाको काम तीव्र पारिएको छ।

भारतले नेपाललाई १० टन मानवीय सहायता सामग्री पठाएको छ भने अन्य मुलुक तथा अन्तर्राष्ट्रिय निकायबाट समेत सहयोगको प्रतिबद्धता आएको छ।


प्रकाशित : बिहीबार , भदौ ११ २०८३०७:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend