काठमाडौं- नेपालमा आएको विनाशकारी बाढीप्रति अमेरिकी विदेशमन्त्री मार्को रुबियोले दुःख व्यक्त गर्दै नेपाली जनताप्रति ऐक्यबद्धता जनाएका छन्।
रुबियोले सामाजिक सञ्जाल एक्समार्फत सन्देश जारी गर्दै बाढीबाट प्रभावित नेपाली नागरिकप्रति सहानुभूति व्यक्त गरेका हुन्। उनले विपद्को यस घडीमा अमेरिकी जनता नेपाली जनताको साथमा रहेको बताएका छन्।
‘विनाशकारी बाढीपछि हामी नेपाली जनताप्रति ऐक्यबद्धता प्रकट गर्दछौँ र हाम्रो प्रार्थना नेपाली जनताको साथमा छ,’ रुबियोले भनेका छन्।
उनले अमेरिकी विदेश मन्त्रालय आवश्यक मानवीय सहायता उपलब्ध गराउन नेपाल सरकारलाई सहयोग गर्न तयार रहेको समेत बताएका छन्।
यसअघि अमेरिकी विदेश मन्त्रालयले रसुवामा भएको बाढीबाट ज्यान गुमाएकाका परिवारप्रति समवेदना व्यक्त गर्दै प्रभावित क्षेत्रमा आपत्कालीन सहायता परिचालन गर्ने जनाएको थियो। अमेरिकी विदेश मन्त्रालयले ५ लाख अमेरिकी डलर बराबरको सहायता उपलब्ध गराउने र आपत्कालीन प्रतिक्रिया विज्ञलाई प्रभावित क्षेत्रतर्फ परिचालन गर्ने घोषणा गरिसकेको छ।
रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीले सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ। उद्धार तथा राहत कार्य जारी रहेकाले प्रभावित क्षेत्रमा थप मानवीय सहयोग आवश्यक रहेको छ।