काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकको आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार सुरु भएको छ। नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टर परिचालन गरी प्रभावित क्षेत्रमा उद्धार थालिएको हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको केहीबेरअघि सम्पन्न बैठकले प्रभावित क्षेत्रमा रहेका घाइतेलाई तत्काल उद्धार गरी प्रारम्भिक उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार घाइतेलाई उद्धार गरी पहिलो चरणमा रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने उपचार शिविरमा लगिनेछ।
घाइतेको अवस्था हेरेर प्राथमिकता निर्धारण गरी उद्धार तथा उपचार अघि बढाइनेछ। गम्भीर घाइतेलाई भने तत्काल हेलिकप्टरमार्फत काठमाडौं ल्याएर उपचार गराउने तयारी गरिएको छ।
यसैबीच बाढी प्रभावित नागरिकका लागि आवश्यक राहत सामग्री स्थलमार्ग हुँदै विदुरस्थित नेपाली सेनाको ब्यारेकतर्फ पठाउन थालिएको छ। त्यहाँबाट प्रभावित क्षेत्रको अवस्था र आवश्यकता हेरेर राहत सामग्री वितरण तथा परिचालन गरिनेछ।
भोटेकोशीमा आएको बाढीले रसुवाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएपछि उद्धार, उपचार र राहतलाई तीव्रता दिइएको हो।