काठमाडौं- रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले रसुवादेखि नुवाकोट र धादिङ हुँदै पृथ्वी राजमार्गसम्मको सडक सञ्जालमा ठूलो क्षति पुर्याएको छ। सडक विभागका अनुसार बेत्रावतीदेखि रसुवागढी नाकासम्मको करिब ४२ किलोमिटर सडक विभिन्न स्थानमा पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने कैयौँ पक्की पुलसमेत बगेको सडक विभागले जनाएको छ।
कहाँ कस्तो क्षति?
बेत्रावती–स्याफ्रुबेँसी–रसुवागढी
बेत्रावतीदेखि रसुवागढीसम्मको करिब ४२ किलोमिटर सडक बाढीले क्षतविक्षत बनाएको छ। सडकका विभिन्न भाग वासआउट भएका छन् र पुलहरू समेत बगेका छन्। स्याफ्रुबेँसीदेखि रसुवागढीतर्फको थप १६ किलोमिटर सडकको विस्तृत क्षतिको विवरण अझै आउन बाँकी छ।
स्याफ्रुबेँसी–टिमुरे सडकखण्डमा मुख्य सडक नै बाढीले बगाएको छ। टिमुरे, स्याफ्रुबेँसी र मैलुङ क्षेत्रमा सडकसँगै बस्ती तथा अन्य भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको छ।
रसुवागढी–टिमुरे
रसुवागढी नाका आसपासको सडक र पुलमा ठूलो क्षति पुगेको छ। टिमुरे क्षेत्रमा सडक, बजार, सवारीसाधन तथा भन्सारसँग सम्बन्धित संरचनासमेत बाढीको चपेटामा परेका छन्। सडक सम्पर्क अवरुद्ध हुँदा क्षतिको विस्तृत निरीक्षणसमेत कठिन भएको छ।
बेत्रावती–देवीघाट–त्रिशूली
बेत्रावतीदेखि तलको तटीय सडकखण्डमा समेत बाढीले व्यापक क्षति पुर्याएको छ। बेत्रावती पुल बगिसकेको छ। देवीघाट क्षेत्रमा करिब ५०० मिटर सडकमा गेग्रान थुप्रिएको र देवीघाट पुलसमेत वासआउट भएको प्रारम्भिक विवरण छ।
त्रिशूली बजार क्षेत्रमा बाढी र लेदो पसेको छ। प्रारम्भिक विवरणअनुसार करिब ६० घर बगेका छन् भने दुईवटा पक्की पुलमा क्षति पुगेको छ।
गल्छी–बैरेनी–गलौदी : पृथ्वी राजमार्गको सबैभन्दा समस्याग्रस्त खण्ड
पृथ्वी राजमार्गअन्तर्गत गलौदी–मुग्लिङ खण्ड अहिले सञ्चालनमा रहे पनि बैरेनी–गलौदी खण्ड सबैभन्दा समस्याग्रस्त बनेको छ।
बैरेनी क्षेत्रमा करिब १ किलोमिटर ३ सय मिटर सडकमा २ देखि ३ मिटरसम्म गेग्रान, माटो र हिलो थुप्रिएको छ।
त्यस्तै अन्य विभिन्न स्थानमा ठूलो ढुंगा, उखेलिएका रुख तथा भारी मात्रामा लेदो थुप्रिएको छ। केही स्थानमा करिब ३ मिटरसम्म गेग्रान जमेको छ। सडक खुलाउन डोजर तथा अन्य उपकरण प्रयोग गरी सफाइ भइरहेको छ।
धादिङका सहायक सडक र पुल
बाढीले धादिङमा पनि सडक सञ्जालमा ठूलो क्षति गरेको छ। फुर्केखोला, घाटबेँसी र जरेखेतका पक्की पुल बगेका छन्। पुल बगेपछि धादिङबेँसीसहित विभिन्न क्षेत्रको आवागमन प्रभावित भएको छ। बैरेनी बजारसमेत जलमग्न भएको थियो।
बाढीले रसुवागढीदेखि बेत्रावतीसम्मको मुख्य सडक करिडोर नै क्षतविक्षत बनाएको छ। उत्तरतर्फ रसुवागढी–स्याफ्रुबेँसी खण्डमा सडक वासआउट तथा पुल बग्ने समस्या छ भने तलतर्फ बेत्रावती–त्रिशूली–देवीघाट क्षेत्रमा सडक, पुल र तटीय संरचनामा क्षति पुगेको छ।
त्यसपछि धादिङतर्फ त्रिशूली नदीको बहावले पुल तथा सडकमा क्षति पुर्याउँदै पृथ्वी राजमार्गको बैरेनी–गलौदी खण्डमा ठूलो मात्रामा गेग्रान थुपारेको छ।
यसले चीनसँगको रसुवागढी नाका जोड्ने प्रमुख व्यापारिक सडकदेखि काठमाडौं–पोखरा जोड्ने पृथ्वी राजमार्गसम्मको यातायात प्रभावित बनाएको छ। सडक विभागले क्षतिको विस्तृत विवरण संकलन गरिरहेको जनाएको छ।