काठमाडौं- रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको आकस्मिक बाढीका कारण रसुवासहित नुवाकोट, धादिङ र गोरखा हुँदै बग्ने त्रिशुली नदीतटीय क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति भएको छ।
बुधबार बिहान साढे ८ बजे आसपास आएको भयावह बाढीले ठूलो धनजनको क्षति गराएको हो। अहिलेसम्म मानवीय क्षतिको विवरण नआए पनि विभिन्न १९ वटा पुलका साथै कम्तीमा ४० किलोमिटर सडक क्षतिग्रस्त भएको प्रारम्भिक विवरण सडक विभागले सार्वजनिक गरेको छ। कति घर बगे भन्ने यकिन छैन।
त्रिशुली नदीमा आएको बाढीले धादिङको मलेखुस्थित फुर्केखोला पुल बगाउँदा धादिङका आठ स्थानीय तहलाई पृथ्वी राजमार्गसँग जोड्ने मुख्य सडक सम्पर्क अवरुद्ध भएको छ।
भोटेकोशी र त्रिशुली आसपास नदीतटीय क्षेत्रमा सयौँ वर्षको सभ्यता नै नामेट भएका छन्। रसुवाको टिमुरे र स्याफ्रुबेँसी नाघेर नुवाकोट र धादिङ आइपुग्दा पनि बाढी उसैगरी उर्लिएको थियो। नदी किनारका खेतबारीमा रोपिएको धानको हरियाली अब कालो हिलो र ठूला ढुंगा लेदोमुनि पुरिएको छ।
पक्की संरचना, मोटरेबल पुल र जलविद्युत आयोजनाका बाँधहरूमा अपूरणीय क्षति भएको छ। नुवाकोटको पवित्र तीर्थस्थल देवीघाट बाढीको भयानक चक्रव्यूहमा फसेको छ। नदीको तीव्र कटानले दशकौँ पुराना बस्तीहरूको जग नै हल्लाइदिएको छ।