बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

गत आर्थिक वर्ष राष्ट्र बैंकद्वारा ४२५ खर्ब रुपैयाँ तरलता प्रशोचन, अन्तरबैंक कारोबार ११ खर्ब ५३ अर्ब

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ ११ २०८३
गत आर्थिक वर्ष राष्ट्र बैंकद्वारा ४२५ खर्ब रुपैयाँ तरलता प्रशोचन, अन्तरबैंक कारोबार ११ खर्ब ५३ अर्ब

तरलता व्यवस्थापनअन्तर्गत केन्द्रीय बैंकले निक्षेप सङ्कलन बोलकबोलमार्फत ३६ खर्ब २० अर्ब ३० करोड रुपैयाँ, स्थायी निक्षेप सुविधामार्फत ३८४ खर्ब ९५ अर्ब ९५ करोड रुपैयाँ र नेपाल राष्ट्र बैंक ऋणपत्रमार्फत ४ खर्ब रुपैयाँ गरी कुल ४२५ खर्ब १६ अर्ब २५ करोड रुपैयाँ बराबरको तरलता प्रशोचन गरेको छ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष तरलता व्यवस्थापनअन्तर्गत  निक्षेप संकलन बोलकबोलमार्फत ३६ खर्ब २० अर्ब ३० करोड रुपैयाँ, स्थायी निक्षेप सुविधामार्फत ३८४ खर्ब ९५ अर्ब ९५ करोड रुपैयाँ र ऋणपत्रमार्फत ४ खर्ब रुपैयाँ गरी कुल ४२५ खर्ब १६ अर्ब २५ करोड रुपैयाँ बराबरको तरलता प्रशोचन गरेको छ। 

यसै अवधिमा ओभरनाइट तरलता सुविधामार्फत १२ अर्ब ५० करोड रुपैयाँ तरलता प्रवाह गरिएकाले खुद ४२५ खर्ब ३ अर्ब ७५ करोड रुपैयाँ बराबरको तरलता प्रशोचन भएको छ। अघिल्लो वर्ष भने मौद्रिक व्यवस्थापनका विभिन्न उपकरणहरूमार्फत पटक-पटक गरी खुद २४६ खर्ब ४८ अर्ब ४५ करोड रुपैयाँ तरलता प्रशोचन गरिएको थियो।

विदेशी विनिमय बजारमा गत आर्थिक वर्ष राष्ट्र बैंकले वाणिज्य बैंकहरूबाट अमेरिकी डलर ८ अर्ब ५ करोड खुद खरिद गरी ११ खर्ब ७२ अर्ब १४ करोड रुपैयाँ बराबरको तरलता प्रवाह गरेको छ। 

अघिल्लो वर्ष विदेशी विनिमय बजारबाट अमेरिकी डलर ५ अर्ब ८३ करोड खुद खरिद गरी ७ खर्ब ८७ अर्ब रुपैयाँ तरलता प्रवाह गरिएको थियो।

यसैगरी, गत आर्थिक वर्ष अमेरिकी डलर ४ अर्ब ८४ करोड बिक्री गरी ७ खर्ब १० अर्ब ३६ करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद गरिएको छ। 

अघिल्लो वर्ष भने अमेरिकी डलर ४ अर्ब १६ करोड बिक्री गरी ५ खर्ब ६३ अर्ब ६१ करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो।

त्यसैगरी आर्थिक वर्ष २०८२/८३ मा बैंकिङ प्रणालीको अन्तरबैंक कारोबारतर्फ वाणिज्य बैंकहरूको १० खर्ब ४ अर्ब ८६ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) को १ खर्ब ४८ अर्ब ८५ करोड रुपैयाँ गरी कुल ११ खर्ब ५३ अर्ब ७१ करोड रुपैयाँको अन्तरबैंक कारोबार भएको छ। 

अघिल्लो वर्ष वाणिज्य बैंकहरूको १५ खर्ब ७१ अर्ब ८६ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरूको १ खर्ब ५१ अर्ब ७३ करोड रुपैयाँ गरी कुल १७ खर्ब २३ अर्ब ५९ करोड रुपैयाँ बराबरको अन्तरबैंक कारोबार भएको थियो।


प्रकाशित : बिहीबार , भदौ ११ २०८३११:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend