बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

निर्माण र उपभोग्य क्षेत्रमा कर्जा प्रवाह बढ्यो, कृषि क्षेत्रमा घट्यो

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ १० २०८३
निर्माण र उपभोग्य क्षेत्रमा कर्जा प्रवाह बढ्यो, कृषि क्षेत्रमा घट्यो

गत आर्थिक वर्षमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको ६.५ प्रतिशत, विकास बैंकहरूको ७.० प्रतिशत र वित्त कम्पनीहरूको ५.४ प्रतिशतले बढेको छ।

काठमाडौं- आर्थिक वर्ष २०८२/८३ मा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ६.५ प्रतिशतले बढेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३ खर्ब ५९ अर्ब ३६ करोड रुपैयाँले बढेर ५८ खर्ब ५७ अर्ब ६ करोड रुपैयाँ पुगेको हो। अघिल्लो वर्ष यस्तो कर्जा ८.४ प्रतिशतले बढेको थियो।

असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.९ प्रतिशत रहेको छ।

अघिल्लो वर्षमा यस्तो अंश गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जा ६२.८ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जा ३७.२ प्रतिशत रहेको थियो।

गत आर्थिक वर्षमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको ६.५ प्रतिशत, विकास बैंकहरूको ७.० प्रतिशत र वित्त कम्पनीहरूको ५.४ प्रतिशतले बढेको छ।

असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) को सुरक्षणमा १५.१ प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६२.९ प्रतिशत रहेको छ। २०८२ असार मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १४.५ प्रतिशत र ६४.७ प्रतिशत रहेको थियो।

आर्थिक वर्ष २०८२/८३ मा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये निर्माण क्षेत्रतर्फको कर्जा १८.६ प्रतिशत, उपभोग्य क्षेत्रतर्फको कर्जा १७.८ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १५.० प्रतिशतले बढेको छ।

औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ५.२ प्रतिशत, वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा ५.० प्रतिशत, र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ४.४ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फको कर्जा १.८ प्रतिशतले घटेको छ।

गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये ट्रस्ट रिसिट (आयात) कर्जा ३२.२ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा १८.३ प्रतिशत, हायर पर्चेज कर्जा ११.१ प्रतिशत, माग तथा अन्य चालु पुँजी कर्जा ७.३ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ६.९ प्रतिशत, अधिविकर्ष कर्जा ५.२ प्रतिशत र आवधिक कर्जा ४.३ प्रतिशतले बढेको छ भने क्यास क्रेडिट कर्जा १.८ प्रतिशतले घटेको छ।

राष्ट्र बैंकको असार मसान्तको वार्षिक विन्दुगत तथ्याङ्क अनुसार निक्षेप र कर्जाको वृद्धिदरमा पनि उतारचढाव देखिएको छ। निक्षेप वृद्धिदरतर्फ आर्थिक वर्ष २०७८/७९ मा ९.० प्रतिशत, २०७९/८० मा १२.३ प्रतिशत, २०८०/८१ मा १३.० प्रतिशत, २०८१/८२ मा १२.४ प्रतिशत र २०८२/८३ मा १३.८ प्रतिशत रहेको छ।

अर्कोतर्फ, निजी क्षेत्रतर्फको कर्जा वृद्धिदर आर्थिक वर्ष २०७८/७९ मा १३.१ प्रतिशत, २०७९/८० मा ३.८ प्रतिशत, २०८०/८१ मा ५.८ प्रतिशत, २०८१/८२ मा ८.४ प्रतिशत र २०८२/८३ मा ६.५ प्रतिशत रहेको छ।


प्रकाशित : बुधबार, भदौ १० २०८३१७:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend