काठमाडौं- आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशतमा सीमित रहेको छ। अघिल्लो आर्थिक वर्ष आर्थिक वृद्धिदर ४.४३ प्रतिशत रहेकोमा गएको आर्थिक वर्षमा वृद्धिदर घटेको हो।
नेपाल राष्ट्र बैंकका अनुसार २०८३ असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.१४ प्रतिशत रहेको छ। आर्थिक वर्ष २०८२/८३ को औसत मुद्रास्फीति भने ३.०८ प्रतिशत रहेको छ।
बाह्य क्षेत्रतर्फ भने नेपालको अवस्था थप बलियो देखिएको छ। कुल विदेशी विनिमय सञ्चिति ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २५ अर्ब ३१ करोड पुगेको छ। विद्यमान सञ्चितिले १९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ।
चालु खाता ९ खर्ब २३ अर्ब ५६ करोड रुपैयाँले बचतमा रहेको छ। यस्तै शोधनान्तर स्थिति १० खर्ब २७ अर्ब ४ करोड रुपैयाँले बचतमा रहेको छ।
विप्रेषण आप्रवाहमा उल्लेख्य वृद्धि भएको छ। नेपाली रुपैयाँमा विप्रेषण आप्रवाह ३७.१ प्रतिशत र अमेरिकी डलरमा २८.१ प्रतिशतले बढेको छ। असार महिनामा मात्रै २ खर्ब ४२ अर्ब ३३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।
व्यापारतर्फ निर्यात १३.८ प्रतिशतले र आयात १६.२ प्रतिशतले बढेको छ। यसले बाह्य व्यापारको आकार विस्तार भए पनि आयातको वृद्धिदर निर्यातभन्दा बढी रहेको देखाएको छ।
सरकारले आर्थिक वर्षमा १५ खर्ब ८२ अर्ब १७ करोड रुपैयाँ खर्च गरेको छ। सो अवधिमा राजस्व परिचालन १२ खर्ब ४१ अर्ब ३२ करोड रुपैयाँ रहेको छ।
यस्तै, विस्तृत मुद्राप्रदाय १३.४ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्ष यस्तो मुद्राप्रदाय १२.५ प्रतिशतले बढेको थियो।
बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन १३.९ प्रतिशतले वृद्धि भइ ८२ खर्ब ७६ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। निजी क्षेत्रमा प्रवाहित कर्जा भने ६.५ प्रतिशतले बढेर ५८ खर्ब ५७ अर्ब ६ करोड रुपैयाँ पुगेको छ।
बैंकिङ प्रणालीमा ब्याजदर भने तुलनात्मक रूपमा न्यून तहमा रहेको छ। बैंक तथा वित्तीय संस्थाबीचको भारित औसत अन्तरबैंक दर २.७५ प्रतिशत र ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर २.३२ प्रतिशत रहेको छ।
वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.२१ प्रतिशतमा झरेको छ भने कर्जाको भारित औसत ब्याजदर ६.५५ प्रतिशत रहेको छ। यसले बैंकिङ प्रणालीमा तरलता सहज रहे पनि निजी क्षेत्रमा कर्जा विस्तार अपेक्षाकृत कमजोर रहेको देखाएको छ।