बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

भोटेकोशी बाढी : प्रभावित क्षेत्रमा ९३ नेपालीसहित ३८४ पर्यटक सम्पर्कविहीन

बुधबार, भदौ १० २०८३
भोटेकोशी बाढी : प्रभावित क्षेत्रमा ९३ नेपालीसहित ३८४ पर्यटक सम्पर्कविहीन

पर्यटन बोर्डका अनुसार प्राप्त विवरण अहिले सम्बन्धित ट्राभल एजेन्सी, गाइड, स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरी पुनः परीक्षण भइरहेको छ।

काठमाडौं- रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान करिब साढे ८ बजे आएको आकस्मिक बाढीपछि प्रभावित क्षेत्रमा रहेका ९३ नेपालीसहित ३ सय ८४ पर्यटक सम्पर्कविहीन भएको प्रारम्भिक विवरण आएको छ।

नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी तथा पर्यटन क्षेत्रका सरोकारवाला निकायले विभिन्न ट्राभल तथा टुर कम्पनीबाट प्राप्त विवरणका आधारमा उक्त तथ्यांक संकलन गरेका हुन्। सम्पर्कविहीनमध्ये २ सय ९१ जना विदेशी र ९३ जना नेपाली नागरिक रहेको प्रारम्भिक विवरणमा उल्लेख छ।

पर्यटन बोर्डका अनुसार प्राप्त विवरण अहिले सम्बन्धित ट्राभल एजेन्सी, गाइड, स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरी पुनः परीक्षण भइरहेको छ।

प्रारम्भिक विवरणअनुसार सम्राट टुर्स एन्ड ट्राभल्सका ७१ जना, काठमाडौं होलिडे टुर्स एन्ड ट्राभल्सका १७ जना, लिफ होलिडेका ५५ जना, कैलाश जर्नीका ३१ जना, एक्सप्लोर भ्याकेसनका ७ जना, ट्रेकर्स सोसाइटीका ९२ जना, रिचा टुर्स एन्ड ट्राभल्सका १२ जना, फिस्टेल टुर्स एन्ड ट्राभल्सका २७ जना, हिमालयन ग्लेसियरका ५२ जना र अल्पाइन इको ट्रेकका २० जना रहेका छन्।

विदेशी नागरिकमध्ये भारतका ५९ जना, अस्ट्रेलिया र नेदरल्यान्ड्सका एक/एक जना, अमेरिकाका ३ जना, मलेसियाका १७ जना, बेलायतका १२ जना र दक्षिण अफ्रिकाका ४ जना रहेको प्रारम्भिक विवरणमा उल्लेख छ। केहीको राष्ट्रियता भने अझै पुष्टि हुन बाँकी छ।

पर्यटन बोर्डले प्रभावित क्षेत्रका पर्यटक तथा यात्रुलाई शान्त रहन, आधिकारिक सूचनामा ध्यान दिन र सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ।

आपत्कालीन अवस्थामा टोल फ्री नम्बर १२३४, हटलाइन ११४४ तथा पर्यटक प्रहरी ९८५१२८९४४५ मा सम्पर्क गर्न सकिने जनाइएको छ।

नजिकको प्रहरी वा सुरक्षा निकाय, स्थानीय प्रशासन, सम्बन्धित ट्राभल एजेन्सी, गाइड वा टुर अपरेटरलाई तत्काल जानकारी गराउन आग्रह गरिएको छ।

पर्यटकको सुरक्षा पहिलो प्राथमिकता रहेको पर्यटन बोर्डले जनाएको छ।


प्रकाशित : बुधबार, भदौ १० २०८३१५:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend