काठमाडौं- रसुवास्थित भोटेकोशीमा आएको बाढीका कारण विभिन्न जलविद्युत आयोजनामा क्षति पुगेको छ।
रसुवा बाढीका कारण निजी क्षेत्रबाट सञ्चालनमा रहेका चार आयोजनाको २ सय ३१ मेगावाट र तीन निर्माणाधीन आयोजनाको ३ सय ४२ मेगावाट साथै सरकारी तवरमा सञ्चालनमा रहेका चार आयोजनाको १२३ मेगावाटमा क्षति पुगेको छ।
बाढीका कारण माथिल्लो त्रिशूली-१ को २१६ मेगावाट, रसुवागढी जलविद्युत् आयोजनाको १११ मेगावाट, रसुवा-भोटेकोशीको १२० मेगावाट, माथिल्लो मेलुङ-ए को ६.४२ मेगावाट, सान्जेन खोलाको ७८ मेगावाट, लाङटाङ खोलाको २० मेगावाट र चिलिमेमा २२ मेगावाटमा क्षति पुगेको छ।
रसुवागढी, चिलिमे, त्रिशुली ३ ए, त्रिशुली ३ वी हव २२० केभी सबस्टेसन, त्रिशुली तथा देवीघाट जलविद्युत केन्द्र एवम् विभिन्न वितरण संरचनाहरु समेत क्षतिग्रस्त हुँदा विद्युत आपूर्ति अवरुद्ध भएका छन्।
बुधबार बिहान रसुवामा आएको बाढीले जनधनमा क्षति पुग्नुका साथै घर, सडक, पुल, विद्युत् तथा अन्य भौतिक संरचनामा समेत उल्लेख्य क्षति पुगेको छ। नदीतटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको छ।