काठमाडौं- नेपाल धितोपत्र बोर्डले पुँजी बजारलाई थप सुदृढ, प्रभावकारी र पारदर्शी बनाउन भन्दै सम्पूर्ण सूचीकृत कम्पनीहरूका लागि नयाँ निर्देशन जारी गरेको छ।
धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८४ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी जारी निर्देशनमा सूचीकृत कम्पनीका आधारभूत सेयरधनीहरूको सेयर बिक्री प्रक्रियालाई व्यवस्थित बनाउने प्रयास गरिएको जनाइएको छ।
नयाँ व्यवस्था अनुसार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीका आधारभूत सेयरधनीहरूले आफूले धारण गरेको सेयरको ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुपरेमा १५ दिनअगावै सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्नेछ।
यसरी गराइएको सूचनाको वैधानिकता अवधि तीन महिनाको हुनेछ भने सो जानकारी नेप्सेमार्फत सर्वसाधारणका लागि सार्वजनिक गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ।
यसैगरी धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ३८ को उपनियम (१ क) बमोजिम खरिद-बिक्री वा हस्तान्तरण गर्न नपाइने (रोक्का रहेका) धितोपत्रका सम्बन्धमा सोही नियमावलीको नियम ३९ को उपनियम (२) बमोजिम केन्द्रीय निक्षेप संस्था (सीडीएससी) मा आवश्यक व्यवस्था मिलाउन र सोको जानकारी दिन समेत धितोपत्र बोर्डले सूचीकृत संगठित संस्थाहरूलाई निर्देशन दिएको छ।