काठमाडौं- नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारलाई सुरक्षित, आधुनिक र पारदर्शी बनाउन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई १९ बुँदे निर्देशन जारी गरेको छ।
धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८४ को उपदफा (१) अनुसार जारी गरिएको यस निर्देशनमा कारोबार व्यवस्थापन प्रणाली, सूचकांक पुनरावलोकन र प्रविधिगत सुधारका विषय समेटिएका छन्।
बोर्डले लगानीकर्ताबाट गुनासो आएपछि नेप्सेबाट स्वीकृति पाएका टीएमएस प्रणालीको 'आईटी अडिट' गरी प्रतिवेदन पेस गर्न भनेको छ।
साथै टीएमएसमा कृत्रिम बौद्धिकताको प्रयोग गरेर हुने कारोबार रोक्न र यससम्बन्धी अध्ययन प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ।
दोस्रो बजारको कारोबारलाई सहज बनाउन मोबाइल एपमार्फत कारोबार गर्ने आवश्यक व्यवस्था मिलाउनका साथै 'सी-केवाईसी' प्रणालीलाई टीएमएस खातासँग जोड्ने व्यवस्था गर्न भनिएको छ।
यसैगरी नेप्से सूचकांकलाई 'अल इक्विटी' को रूपमा कायम राखी 'फ्रि फ्लट सेयर' का आधारमा नयाँ 'सूचकांक विकास गर्न र सोही आधारमा सर्किट ब्रेकरका नियम पुनरावलोकन गर्न निर्देशन दिइएको छ।
यस्ता छन् निर्देशन -
१. धितोपत्र कारोबारमा ग्राहकले प्रयोग गर्ने कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) का सम्बन्धमा लगानीकर्ताको गुनासो प्राप्त भएकोले नेपाल स्टक एक्सचेञ्ज लि. (नेप्से) बाट स्वीकृति दिएका प्रणालीको आईटी अडिट/भीएपीटी गरी सो सम्बन्धी प्रतिवेदन पेस गर्ने।
२. धितोपत्र कारोबार प्रणाली (एनओटीएस) मा समस्या देखिदै आएकोमा समस्या पहिचानसहित नयाँ उपकरणहरूको समेत कारोबार सहजता हुनेगरी कारोबार प्रणालीलाई थप आधुनिक र सक्षम बनाउँदै सुरक्षित कारोबार प्रणालीको सुनिश्चितता गर्ने।
३. धितोपत्रको कारोवार व्यवस्थापन प्रणालीमा कृत्रिम बौद्धिकताका आधारमा कुनै प्रविधिको प्रयोग गरी कारोबार गर्न सकिने व्यवस्थाका, सम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यास, नेपालको आवश्यकता, नेप्सेको पूर्वाधार र आवश्यक कानूनी तथा अन्य व्यवस्था सम्बन्धी अध्ययन गरी प्रतिवेदन पेस गर्ने।
४. कारोबार प्रणालीसँग जोडिएका सम्पूर्ण टीएमएस मा अर्को व्यवस्था नभएसम्मको लागि कृत्रिम बौद्धिकताका आधारमा कुनै प्रविधिको प्रयोग कारोबार प्रविष्ट भएको आदेशको पहिचान गरी रोक्ने व्यवस्था गर्न र सो नगर्न लगानीकर्ताको जानकारीको लागि सुचना समेत प्रकाशन गर्ने।
५. नयाँ लगानीकर्ता तथा विद्यार्थीहरूलाई शेयर बजारको प्राविधिक अभ्यास गराउनका लागि सञ्चालनमा ल्याइएको आधिकारिक डेमो ट्रेडिङ प्लेटफर्मलाई निरन्तर रूपमा प्रयोग हुने गरी रोकावट नहुने व्यवस्था मिलाउने।
६. धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली, २०८२ को विनियम ७ बमोजिम आफ्टर मार्केट अर्डर प्रभावकारी रूपमा लागू गर्ने/गराउने।
७. धितोपत्रको दोस्रो बजार कारोबार मोबाइल एपमार्फत गर्ने आवश्यक व्यवस्था मिलाउने।
८. हाल सिडिएससिले सञ्चालनमा ल्याएको सी-केवाईसी लाई धितोपत्र कारोबारका लागि खोलिने टीएमएस खाता खोल्दा सो बमोजिम सी-केवाईसी गर्न सकिने व्यवस्था गर्न/गराउने।
९. नेप्से सूचकांकलाई अल इक्वीटी इन्डेक्स को रूपमा कायम राखी फ्री फ्लोएट सेयर्सको आधारमा नयाँ सूचकांक विकास गरी बेन्चमार्क सूचकांकको रूपमा प्रयोग गर्ने व्यवस्थाका लागि तत्काल कार्य अगाडि बढाउन र बोर्डबाट आवश्यक सहजीकरण गर्नुपर्ने विषयहरू पेस गर्ने।
१०. फ्री फ्लोएट सेयर्स को आधारमा नयाँ सूचकांक विकास गरी बेन्चमार्क सूचकांकको रूपमा प्रयोग गरी सोको आधारमा सर्किट ब्रेकरको नियम पुनरावलोकन गर्ने।
११. बोर्डको निर्देशन बमोजिम सुचारू गरी स्थगन गरिएको कारोवार सत्रको अन्तिम १५ मिनेटको कारोबारलाई आधार लिई नेप्से इन्डेक्स गणना गर्ने विधिलाई पून सुचारू गराउन सकिने/नसिकने सम्बन्धमा र कारोबार समयको अन्तिममा हुने मार्केट अर्ड (एमकेटी) को व्यवस्थापन सम्बन्धमा तथा सूचिकृत कम्पनीको दोस्रो बजारमा हुने कारोबारमा लागु भैरहेको दैनिक १५ प्रतिशत सम्म हुने घट/बढ सम्बन्धी सर्किट ब्रेकर सम्बन्धी व्यवस्था पूनरावलोकन अवश्यक रहे नरहेको सम्बन्धमा अध्ययन सुझाव सहित एकहप्ताभित्र बोर्डमा पेस गर्ने।
१२. 'सूचीकृत कम्पनीहरूको वित्तीय सबलता, तरलता तथा संस्थागत सुशासनको अवस्थाका आधारमा वर्गीकरण प्रकृयालाई वस्तुनिष्ठ बनाउने।
१३. पुँजी, प्रतिफल, तरलता लगायतका आधारमा लगानीयोग्य, अनुमानयोग्य नेप्से इन्डेक्स विविधीकरण गर्दै नेप्से सूचकांकलाई स्थापित अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप वनाउन प्रचलित सूचकांक गणना गर्ने संस्थासँग सहकार्य अगाडि बढाउने।
१४. हाल गणना भइरहेको सेन्सेटिभ सूचकांकलाई कानूनी तथा प्रक्रियागत व्यवस्था मिलाई पुनरावलोकन गर्ने।
१५. संगठित संस्थाको सूचीकरणपश्चात् पहिलो कारोबार मूल्य निर्धारण सम्बन्धी व्यवस्थालाई वैज्ञानिक बनाउन अन्तर्राष्ट्रिय अभ्यास अनुरूप हुने व्यवस्था गर्ने।
१६. सूचीकृत भई लामो समयदेखि कारोबारमा सक्रिय नभएका सूचीकृत कम्पनीहरूको सम्बन्धमा कानूनी तथा प्रक्रियागत सुधारका विषयमा अध्ययन गरी सिफारिस गर्ने।
१७. सूचीकृत संगठित संस्थाका आधिकारिक सूचना प्रवाहसम्बन्धी व्यवस्था मिलाउन पोर्टलको विकास गरी लागु गर्ने।
१८. महिनाको कम्तीमा एउटा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने।
१९. धितोपत्र कारोबारको टी प्लस टू अवधिमा ग्राहकलाई रकम उपलब्ध गराउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्ने।