काठमाडौं- नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आयोजनामा '१८औँ नाडा अटो शो २०२६' सुरू भएको छ। यस वर्षको अटो शोमा ५३ वटा सवारी ब्रान्ड, ७० वटा पार्ट्स तथा सेवा कम्पनी र करिब ११ वटा बैंक तथा वित्तीय संस्थाको सहभागिता छ।
नाडाले आफ्नो स्थापनाको ५० औँ वार्षिकोत्सव (स्वर्ण जयन्ती) मनाइरहेको छ। यसकारण पनि यसपटकको अटो शो विशेष रहेको नाडा संयोजक अनुप बराल बताउँछन्।
नाडाले २०५५ सालामा पहिलो अटो शो आयोजना गरेको थियो। पहिले प्रत्येक दुई वर्षमा हुने अटो शोमा ग्राहकको आकर्षण बढेसँगै २०६७ सालदेखि नेपालीहरूका ठूला चाडपर्व लक्षित गरी प्रत्येक वर्ष आयोजना गर्न थालिएको हो।
काठमाडौं भृकुटीमण्डप प्रदर्शनीस्थललाई चारपांग्रे, दुईपांग्रे, वित्तीय संस्था, अटो पार्ट्स तथा ग्यारेज उपकरण, ‘मेड इन नेपाल-मेड फर नेपाल’ प्याभिलियन र इन्टरनेसनल बिजनेस प्याभिलियन गरी विभिन्न क्षेत्रमा विभाजन गरिएको छ।
विगतका तुलनामा प्रदर्शनीका स्टलहरू थप फराकिलो र व्यवस्थित बनाइएको छ। प्रदर्शनीस्थललाई ह्विलचेयरमैत्री बनाउनुका साथै पर्याप्त बत्ती, एसी तथा पंखाको व्यवस्था गरिएको छ।
अवलोकनकर्ताले सवारीसाधनसँगै वित्त, बीमा, सर्भिस तथा पार्ट्ससम्बन्धी जानकारी एउटै प्रदर्शनीबाट लिन सक्ने गरी क्षेत्र व्यवस्थापन गरिएको छ। यसले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई मूल्य, वित्तीय सुविधा, बीमा, सर्भिस तथा पार्ट्ससम्बन्धी जानकारी तुलना गर्न सहज हुने छ। मंगलबार बिहान साढे १० बजेदेखि सुरु भएको प्रदर्शनी ६ दिनसम्म चल्नेछ।