काठमाडौं- आन्तरिक राजस्व विभागले करसम्बन्धी अनलाइन सेवा थप सहज बनाउने उद्देश्यले नयाँ करदाता पोर्टल सञ्चालनमा ल्याएको छ। विभागले मंगलबारदेखि नयाँ पोर्टल औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो।
विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालका अनुसार करदाताले अनलाइन सेवा लिँदा भोग्दै आएका समस्या र झन्झट न्यूनीकरण गर्ने गरी पोर्टल विकास गरिएको हो।
‘यो वर्षलाई ‘ट्याक्स जस्टिस’ वर्षका रूपमा अघि बढाउने भनेका छौँ। त्यहीअनुसार सेवाग्राहीलाई सहज हुने हरेक काम गर्नेछौँ। त्यही क्रममा यो एउटा प्रयास हो’, भुसालले भने।
नयाँ पोर्टल स्थिर र पूर्णरूपमा सञ्चालनमा नआउँदासम्म पुरानो पोर्टल पनि सँगसँगै सञ्चालनमा रहने विभागले जनाएको छ।
नयाँ पोर्टलबाट प्रतिष्ठानले बुझाएको अन्तःशुल्क विवरण सम्बन्धित कार्यालयबाट रुजु गराउनुपर्ने अवस्थाको अन्त्य गर्दै प्रणालीबाटै रुजु गर्न सकिने व्यवस्था गरिएको छ।

त्यस्तै, टीडीएस (स्रोतमा कर कट्टी) गरेपछि विवरण मासिक रूपमा प्रविष्ट गर्न सकिने सुविधा पनि पोर्टलमा राखिएको छ।
विदेशी लगानीकर्ताले समेत नयाँ पोर्टलबाटै स्थायी लेखा नम्बर (प्यान) का लागि आवेदन दिन सक्नेछन्। पोर्टलबाट आवश्यक प्रमाणहरू लगइन गरी डाउनलोड गर्न सकिने व्यवस्था पनि गरिएको विभागले जनाएको छ।
यसअघि भ्याट विवरण संशोधनका लागि सम्बन्धित कर कार्यालयमै पुग्नुपर्ने भए पनि नयाँ पोर्टलबाट अब सात दिनभित्रै भ्याट विवरण संशोधन गर्न सकिने व्यवस्था गरिएको छ।
विवरण संशोधनका लागि कार्यालय धाउनुपर्ने नभएपछि फेरि अर्को महिना समायोजन गर्ने त्यसमा पनि निकै झन्झट रहेको व्यवसायीहरूले बताउँदै आएका थिए।
नयाँ पोर्टलमा करदाताका लागि उपलब्ध सेवा विस्तारसँगै अनलाइनबाटै धेरै प्रक्रिया पूरा गर्न सकिने व्यवस्था गरिएको विभागको भनाइ छ।
यो नयाँ प्रणालीको आर्किटेक परिवर्तन गरिएको र लोड सर्भर व्यवस्थापनमा पनि नयाँ प्रणाली रहेको विभागले जानकारी दिएको छ। लोड बढ्नेबित्तिकै अटोमेटिक क्षमता विस्तार हुने अहिलेको प्रणालीमा रहेकाले लगइन र एक्सपायर हुने समस्या नहुने विभागले जानकारी दिएको छ।