काठमाडौं- सरकारी स्वामित्व प्राप्त राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरूका लागि चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ।
भदौ ८ गते सोमबार साँझ ७:३० बजे बसेको सञ्चालक समितिको ५२८ औं बैठकको निर्णयानुसार कम्पनी ऐन २०६३ को दफा ६७ बमोजिम आगामी २०८३ असोज २ गते, साधारण सभा आयोजना गर्ने निर्णय गरिएको हो।
उक्त सभा काठमाडौंको शंखमूलस्थितमा बिहान ११ बजेदेखि सुरु हुनेछ। साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा पेस गरिने आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को वार्षिक प्रतिवेदन,असार मसान्तको वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरूमाथि छलफल गरी पारित गर्ने कार्यसूची रहेको छ।
साथै, महालेखापरीक्षक कार्यालयको परामर्श बमोजिम सञ्चालक समितिबाट आर्थिक वर्ष २०७९/८०, २०८०/८१ र २०८१/८२ का लागि नियुक्त लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक समर्थन (अनुमोदन) गर्ने प्रस्ताव पनि सभामा पेस गरिनेछ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले भदौ १८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार भदौ १७ गतेसम्म धितोपत्र विनिमय बजारमा कारोबार भई कायम रहेका र ७ कार्यदिनभित्र कम्पनीको सेयर रजिष्ट्रार एनआईएमबी एस क्यापिटल लिमिटेड, लाजिम्पाटमा प्राप्त सेयर नामसारीका आधारमा सेयरधनी किताबमा कायम सेयरधनीहरूले मात्र साधारण सभामा सहभागी हुन पाउनेछन्।
सभामा भाग लिन आउने सेयरधनीहरूले अनिवार्य रूपमा सेयर प्रमाणपत्र, हितग्राही खाताको विवरण वा फोटोसहितको आधिकारिक परिचयपत्र साथमा ल्याउनुपर्नेछ।
प्रतिनिधि (प्रोक्सी) मार्फत सहभागी हुन चाहने सेयरधनीले कम्पनीकै सेयरधनी रहेको व्यक्तिलाई तोकिएको ढाँचामा प्रोक्सी नियुक्त गरी सभा हुनुभन्दा कम्तीमा ७२ घण्टा अगावै सेयर रजिष्ट्रारको कार्यालयमा दर्ता गराई सक्नुपर्नेछ।