काठमाडौं- बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।
कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चरणमा सेयर बाँडफाँट गरिसकेपछि दोस्रो चरणमा आम सर्वसाधारणका लागि सेयर जारी गर्न लागेको हो।
कम्पनीले १ अर्ब ४ करोड रुपैयाँ बराबरको जारी पुँजीको २० प्रतिशत अर्थात् २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १० लाख ४० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ४ हजार कित्ता सेयर बाँडफाँट भइसकेको छ।
त्यसैगरी, २० हजार ८०० कित्ता कर्मचारीहरूका लागि र ५२ हजार कित्ता सामूहिक लगानी कोषहरूका लागि छुट्याएर बाँडफाँट गरिसकिएको छ।
बाँकी रहेको ८ लाख ६३ हजार २०० कित्ता ८ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा सर्वसाधारणका लागि निष्कासन गरिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
सेयर निष्कासन छिटोमा भदौ २५ गते र ढिलोमा असोज ५ गते बन्द हुनेछ। रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ। जसले दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ।
कम्पनीले सञ्चालन गरेको १९.८ मेगावाट क्षमताको माथिल्लो सोलुखोला जलविद्युत् आयोजनाको कुल अनुमानित लागत ३ अर्ब ८५ करोड ५१ लाख ७५ हजार २७ रुपैयाँ २० पैसा र प्रतिमेगावाट लागत १९ करोड ४७ लाख ५ हजार ८०९ रुपैयाँ ४५ पैसा छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ५.७८ वर्ष र डिस्काउन्टेड लगानी फिर्ता हुने अवधि ८.१५ वर्ष रहेको छ।
सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका तोकिएका शाखा वा सीडीएससीको 'मेरो सेयर' अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।