बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

'पी टू'को सुन्दर बनोट : सार्वजनिक भयो सिप्रदी यात्रीले नेपालमै बनाएको विद्युतीय स्कुटर

सोमबार, भदौ ८ २०८३
'पी टू'को सुन्दर बनोट : सार्वजनिक भयो सिप्रदी यात्रीले नेपालमै बनाएको विद्युतीय स्कुटर

सिप्रदी यात्रीले बनाएका विद्युतीय स्कुटर विश्वस्तरीयरूपमा प्रतिस्पर्धा गर्ने सक्ने खालको छ। यो स्कुटर सिप्रदी यात्रीले प्रतिस्पर्धी मूल्यमा बजारमा ल्याउने भएकाले राम्रो संख्यामा बिक्री हुने अनुमान धेरैको छ।

काठमाडौं- पहिलोपटक नेपालमै बनेको विद्युतीय स्कुटर 'पी टू'। डिजाइन, इन्जिनियरिङ, ब्याट्री, मोटर र सफ्टवेयरलगायत सबैमा नेपाली सोच र श्रम मिसिएको यो स्कुटर सिप्रदी यात्रीले बनाएको हो।

सिप्रदी र यात्री मोटरसाइकलको संयुक्त उपक्रममा बनेको सिप्रदी यात्री प्रालिले नेपालमै डिजाइन तथा उत्पादन गरेको विद्युतीय स्कुटर सार्वजनिक गरेको छ। बुढानीलकण्ठमा एक कार्यक्रमबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले 'पी टू' सार्वजनिक गरेका हुन्। मंगलबारदेखि काठमाडौं भृकुटीमण्डपमा सुरु हुने नाडा अटो शोमा समेत आम उपभोक्ताका लागि 'पी टू' सार्वजनिक हुने छ।

'पी टू' सार्वजनिक गर्दै अर्थमन्त्री वाग्लेले अब भविष्य ईभी नै भएको बताए। 'पी टू' ले आफ्नै स्तरीयता देखाउँदै अरुको कपी नगरी प्रोडक्ट तयार पारेको समेत उनले बताए। विश्वस्तरीय सवारीसाधन नेपालीले बनाउन सक्छन् भन्ने प्रमाणित भएको उनको भनाइ छ। 

यात्री मोटरसाइकलको बुढानीलकण्ठमा रहेको डिजाइन स्टुडियोमा डिजाइन तथा प्रोटोटाइप तयार भएर मास प्रोडक्सनका लागि भने सिप्रदी यात्रीले धादिङको गजुरीमा उत्पादन प्लान्ट बनाइरहेको छ।

सिप्रदीले यात्री मोटरसाइकलसँगको सहकार्यमा नेपालमै विद्युतीय मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने गरी लामो छलफलपछि २०८१ असारमा दुई कम्पनीबीच औपचारिकरूपमा रणनीतिक सम्झौता भएको थियो। त्यसअनुसार विद्युतीय स्कुटर तयार भएको हो।

yatri p two.jpg

'यो एउटा लामो यात्रा हो। गएको ९ वर्षदेखिको प्रयासले हामी यहाँसम्म आइपुगेका छौँ। यहाँसम्म आउनुमा यात्री 'पी वान' प्रयोगकर्ताको पनि ठूलो भूमिका छ। उहाँहरूले गएको तीन चार वर्षमा ३० लाख किलोमिटर 'पी वान' कुदाएर 'पी टू'लाई यहाँ पुर्‍याउन सहयोग गर्नुभयो। हामी 'पी टू' लाई लिएर विश्वस्त छौँ' यात्रीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत असिम पाण्डेले भने।

सिप्रदी यात्रीले बनाएका विद्युतीय स्कुटर विश्वस्तरीयरूपमा प्रतिस्पर्धा गर्ने सक्ने खालको छ। यो स्कुटर सिप्रदी यात्रीले प्रतिस्पर्धी मूल्यमा बजारमा ल्याउने भएकाले राम्रो संख्यामा बिक्री हुने अनुमान धेरैको छ। सिप्रदी यात्रीले उत्पादन गरेको विद्युतीय स्कुटर विदेश निर्यात हुने सम्भावनासमेत देखिन्छ।

'हामीले ९ वर्षदेखि जे अनुभव गरेर जुन साथ र माया पायौँ। सिप्रदी यात्रीको सहकार्यबाट अहिले बनेको 'पी टू'लाई लिएर हामी गर्व गरिरहेका छौँ। त्यसका लागि नाडा अटो शोमा आएर कस्तो उत्पादन छ भन्ने यहाँहरूले बुझ्न सक्नुहुन्छ' असिमले भने।

प्रतीक्षाको अन्तिम घडीमा सिप्रदी यात्री : कस्तो होला नेपालमै बनेको विद्युतीय स्कुटर? प्रतीक्षाको अन्तिम घडीमा सिप्रदी यात्री : कस्तो होला नेपालमै बनेको विद्युतीय स्कुटर?


प्रकाशित : सोमबार, भदौ ८ २०८३१९:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend