काठमाडौं- राष्ट्रिय परिचयपत्र (एनआईडी) बैंक खातासँग लिंक नगरेको भन्दै २४ घण्टाभित्र मोबाइल बैंकिङ सेवा बन्द हुने दाबी गर्दै पठाइएका शंकास्पद सन्देश तथा लिंकबाट सावधान रहन नेपाल प्रहरीको साइबर ब्यूरोले आग्रह गरेको छ।
पछिल्लो समय बैंकका ग्राहकलाई लक्षित गरी ‘एनआईडी अपडेट गर्नुपर्ने’ भन्दै मोबाइलमा एसएमएस तथा अन्य माध्यमबाट सन्देश पठाउने र त्यसमा दिइएको लिंकमार्फत विवरण भर्न लगाउने क्रम देखिएको छ। यस्ता सन्देशमा ‘एनआईडी लिंक नभएको कारण तपाईंको मोबाइल बैंकिङ सेवा २४ घण्टाभित्र बन्द हुनेछ’ भन्दै तत्काल अपडेट गर्न लिंकमा क्लिक गर्न भनिएको हुन्छ।
बैंकको आधिकारिक वेबसाइट वा एपसँग सम्बन्धित नभएको त्यस्तो लिंक क्लिक गर्दा प्रयोगकर्ताको व्यक्तिगत तथा बैंकिङ विवरण चोरी हुन सक्ने जोखिम हुन्छ।
साइबर ब्यूरोले साइबर ठगी तथा अनलाइन अपराधबाट जोगिन शंकास्पद लिंकमा क्लिक नगर्न र अपरिचित व्यक्ति वा स्रोतबाट आएका सन्देशमा विश्वास नगर्न आग्रह गर्दै आएको छ।
पछिल्लो समय ‘केवाईसी अपडेट’का नाममा बैंकका ग्राहकलाई लक्षित गरी फिसिङ गर्ने घटना पनि देखिएको छ। हालै नबिल बैंकका ग्राहकलाई लक्षित गरी एनआईडी अपडेटको बहानामा संवेदनशील विवरण हात पार्ने प्रयास भएका थिए। सामाजिक सञ्जालमा त्यस्ता सन्देशको स्क्रिनसटहरू फैलिएका छन्।
बैंक, वालेट वा सरकारी निकायको नाम प्रयोग गरेर आएको भए पनि कुनै पनि शंकास्पद लिंकमा क्लिक गरी नागरिकता, राष्ट्रिय परिचयपत्र नम्बर, बैंक खाता, कार्ड नम्बर, पासवर्ड, ओटीपी वा अन्य संवेदनशील विवरण प्रविष्ट नगर्न आग्रह गरिएको छ।
बैंकिङ वा केवाईसीसम्बन्धी कुनै विवरण अद्यावधिक गर्नुपरेमा सम्बन्धित बैंकको आधिकारिक मोबाइल एप, वेबसाइट वा नजिकको शाखाबाट मात्र प्रक्रिया पूरा गर्न उपयुक्त हुन्छ। कुनै सन्देश वास्तविक हो कि होइन भन्नेमा शंका लागेमा सन्देशमा दिइएको लिंक वा फोन नम्बर प्रयोग नगरी सम्बन्धित बैंकको आधिकारिक सम्पर्क माध्यमबाट पुष्टि गर्नुपर्छ।