काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले अति आकर्षक ब्याजदरमा साना तथा मझौला (एसएमई) कर्जा सुविधा उपलब्ध गराउने भएको छ।
व्यवसायी तथा उद्यमीहरूलाई लक्षित गर्दै ल्याइएको यस योजनाअन्तर्गत ग्राहकहरूले वार्षिक ५.७५ प्रतिशत ब्याजदरमा एसएमई कर्जा प्राप्त गर्न सक्नेछन्। यो ब्याजदर एक वर्षसम्म स्थिर रहनेछ।
'मेहेनती हातलाई हाम्रो साथ' भन्ने मूल नाराका साथ सञ्चालनमा रहेको एनआईएमबी एसएमई कजामार्फत व्यवसायको प्रकृति, आवश्यकता, क्षमता तथा उपयोगिताका आधारमा उपयुक्त कर्जा सुविधा उपलब्ध गराउने बैंकको लक्ष्य रहेको छ।
यस योजनामार्फत व्यवसायी तथा उद्यमीहरूले आफ्नो व्यवसाय विस्तार, चालु पुँजी व्यवस्थापन, नयाँ लगानी तथा व्यवसायको आवश्यकताअनुसार कर्जा प्राप्त गर्न सक्नेछन्।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले देशभर रहेका २५१ शाखामार्फत एसएमई कर्जासम्बन्धी सेवा तथा जानकारी उपलब्ध गराउँदै आएको छ। बैंकले मेहनती उद्यमी तथा व्यवसायीहरूसँग वित्तीय सहकार्य गर्दै उनीहरूको व्यवसायिक विकास र समृद्धिमा योगदान पुऱ्याउने विश्वास व्यक्त गरेको छ।