बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम तीन अर्ब रुपैयाँमा सीमित

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ ८ २०८३
नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम तीन अर्ब रुपैयाँमा सीमित

आज सेन्सेटिभ इण्डेक्स ३.१७ अंक, फ्लोट इण्डेक्स १.३४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.११ अंकले ओरालो लागेका छन्।

काठमाडौं- साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९.१३ अंकले घटेर २५९९.५८ बिन्दुमा झरेको छ। 

कारोबार अवधिका क्रममा २६०० को मनोवैज्ञानिक टेवा बिन्दुभन्दा तल ओर्लिएको बजार अन्तिम समयमा भने सोही बिन्दुको नजिक पुगेर बन्द भएको हो।

यस दिन सेन्सेटिभ इण्डेक्स ३.१७ अंक, फ्लोट इण्डेक्स १.३४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.११ अंकले ओरालो लागेका छन्।

नेप्से परिसूचकसँगै कारोबार रकममा पनि संकुचन आएको छ। अघिल्लो कारोबार दिन शुक्रबार ४ अर्ब १६ करोड रुपैयाँको सेयर खरिदबिक्री भएकोमा सोमबार ३५० वटा कम्पनीको ५३ हजार १५३ पटकको कारोबारमा ३ अर्ब २३ करोड ९७ लाख ६० हजार रुपैयाँ बराबरको ८५ लाख ७२ हजार कित्ता सेयर किनबेच भएको छ।

बजारमा गिरावट आए तापनि केही कम्पनीको सेयरमा भने लगानीकर्ताको आकर्षण कायमै देखियो। सर्वोत्तम पेन्ट्सको सेयरमूल्य लगातार आठौँ कारोबार दिन सकारात्मक सर्किट लेभलमा बढेर ११९ रुपैयाँ ६० पैसा वृद्धिसँगै ९१७ रुपैयाँ २० पैसा पुगेको छ।

 त्यस्तै, धौलागिरी लघुवित्तको सेयरमूल्य करिब १२ प्रतिशत र सिवाईसी लघुवित्तको ९ प्रतिशतभन्दा बढीले बढेको छ। उता पञ्चकन्या माइ हाइड्रोपावरको सेयरमूल्य भने सर्वाधिक ९.८३ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा १२ करोड ७२ लाख रुपैयाँको सेयर कारोबार गर्दै रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रह्यो। त्यसैगरी, सोलु हाइड्रोपावरको करिब १२ करोड र साहस उर्जाको साढे १० करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ।

यस दिन कारोबारमा आएका सबै १३ वटै उपसमूहका परिसूचक राताम्मे भएका छन्। जसमध्ये जलविद्युत् उपसमूहको परिसूचक सर्वाधिक १.१९ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ। बाँकी अन्य उपसमूहहरूको गिरावट भने १ प्रतिशतभन्दा कममा सीमित रहेको छ।


प्रकाशित : सोमबार, भदौ ८ २०८३१५:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend