काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय उडानमा प्रयोग गरिरहेको दुईवटा 'वाइडबडी ए ३३०' जहाजको इन्जिन मर्मत र इन्जिन भाडामा लिने टेन्डर फेरि रद्द भएको छ। टेन्डरमा सहभागी कम्पनीले बिड रकम नै नराखेपछि टेन्डर नै रद्द गरिएको छ।
निगमले वाइडबडी जहाजको इन्जिन मर्मत तथा भाडामा लिने कम्पनी छनोटका लागि टेन्डर प्रक्रिया थालेको करिब ६ महिना भइसक्दा पनि कम्पनी छनोट गर्न सकेको छैन।
निगमले समयमा कम्पनी छनोट गर्न नसक्दा वाइडबडी जहाज ग्राउन्डेड हुने निश्चित भएको छ। निगमले जहाज ग्राउन्डेडको गलत सन्देश रोक्न व्यवसाय नै धरापमा पुर्याउने गरी वाइडबडी जहाज उडानमा साइकल सेभको नीति लिएको छ।
दैनिक एउटा जहाजबाट ४ साइकल उडान क्षमता भएपनि अहिले निगमले दुईवटा वाइडबडीमार्फत सातामा १० साइकलमात्रै उडान गर्ने नीति लिएको छ। दुईवटा वाइडबडीबाट दैनिक ८ साइकल उडानको दरमा सातामा ५६ साइकल उडान गर्ने क्षमतालाई जम्मा १० साइकलमा झार्न लागिएको हो। जसको प्रत्यक्ष असर निगमको व्यापार पर्ने छ।
निगमले अहिले जापानको नारितामा सातामा चार उडान गर्ने जसमा सातामा एउटा उडान वाइडबडीबाट गर्ने तालिका तय गरेको हो। अपवादमा न्यारोबडी जहाजले उडान गर्न नसकेको अवस्थामा कतार र यूएईको १/२ वटा उडान गर्ने भएको छ। उडान कटौतीको मुख्य उद्देश्य जहाज ग्राउन्डेड भएको सन्देश बाहिर जान नदिने नै हो।
निगम स्रोतका अनुसार दुईवटा वाइडबडीमध्ये कलसाइन नाइन एन एलवाईको १ सय ५० उडान साइकल रहेको छ भने अहिले सी चेक डीका लागि इटाली गएको जहाजको ४ सय ५० साइकलमात्रै उडान गर्न मिल्छ।
इन्जिन मर्मत र भाडामा लिने कम्पनी छनोटमा भएको लापरबाहीका कारण निगमले अहिले व्यवसाय नै चौपट हुने गरी साइकल सेभको नीतिमा जहाज उडाउने निर्णय गरेको हो।
सरकारले निगम कार्यकारी अध्यक्ष र महाप्रबन्धकमा नियुक्ति गरेको महेश्वभक्त श्रेष्ठलाई सर्वोच्च अदालतले बर्खास्त गर्ने आदेश दिएको छ। योसँगै इन्जिन मर्मत तथा भाडामा लिने टेन्डर प्रक्रियामा थप अलमल हुने भएको छ।
बारम्बारको टेन्डरमा कम्पनी छनोट हुन नसकेपछि निगमले टेन्डर प्रक्रियामा केही सुधार गर्ने तयारीसमेत गरेको छ। निगमले यसअघि जहाजको इन्जिन मर्मत तथा इन्जिन भाडामा लिनका लागि एउटै कम्पनी छनोट गर्ने गरी काम गरिरहेको थियो।
अप्रिल ५ देखि सुरु गरेको प्रक्रियामा कम्पनी नै छनोट हुन नसकेपछि निगमले अब टेन्डरलाई दुई भागबाट गर्ने तयारी गरेको हो। निगमले अब जहाजको इन्जिन मर्मतका लागि एउटा टेन्डर र इन्जिन भाडाका लागि अर्को टेन्डर गर्ने तयारी गरेको छ।
टेन्डर प्रक्रिया ६ महिना हुन लाग्दा प्रगति शून्य
निगमले इन्जिन मर्मत तथा भाडामा लिने प्रक्रिया सुरु गरेको ६ महिना हुन लागिसकेको छ। पहिलोपटक अप्रिल ५ मा चारवटा इन्जिन मर्मत तथा भाडामा लिनेगरी टेन्डर गरेको थियो। तर उक्त टेन्डरमा समय थप गर्दासमेत कुनै पनि कम्पनीले आवेदन दिएका थिएनन्।
कम्पनी छनोट प्रक्रियामा अहिलेसम्म प्रगति शून्य छ। पछिल्लो पटक निगमले जुन २५ मा ३० दिनको सयमसीमा राखेर दुईवटा वाइडबडीको चारवटा इन्जिन मर्मत तथा भाडामा लिनेगरी प्रस्ताव माग गरेको थियो। उक्त प्रस्तावमा यूएईको कम्पनीले आवेदन दिएको थियो। आवेदन पेस गर्ने कम्पनीको प्रस्ताव रद्द भइसकेको छ। कम्पनीले टेन्डर बीड रकम नै दाखिला नगरेको कारण रद्द गरिएको हो।
इन्जिन मर्मत तथा भाडामा लिने काम गरिरहेको निगमको सम्बन्धित विभागका अनुसार अब एउटा वाइडबडी जहाज ग्राउन्डेड हुने निश्चित भएको छ। अर्को वाइडबडी भने थप तीन महिनाभित्रै कम्पनी छनोट भएको अवस्थामा ग्राउन्डेड नहुने स्रोतको दाबी छ।
थप संकटतर्फ वायुसेवा निगम
आर्थिक संकट भोगिरहेको अवस्थामा जहाज ग्राउन्डेड भएपछि निगममा थप संकट आउने छ। अहिले नै निगमसँग चारवटा इन्जिन मर्मत र भाडामा लिनका लागि नगद अभाव छ। निगमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग इन्जिन मर्मत तथा भाडाका लागि आवश्यक रकम व्यवस्थापनका लागि हारगुहार गरिरहेको छ।
इन्जिन मर्मत तथा भाडामा लिने काम जति हतारमा गरिन्छ त्यति नै महँगो हुने निश्चित छ। अर्कोतर्फ विश्व बजारमा अहिले वाइडबडी जहाजको इन्जिन भाडामा पाउन नै असहज अवस्था छ। साथै युक्रेन-रुस द्वन्द्वका कारण समयमा नै इन्जिन मर्मत हुनसक्ने अवस्था देखिँदैन।
निगम स्रोतका अनुसार एउटा इन्जिन मर्मतका लागि न्यूनतम ४ महिनादेखि ६ महिनासम्म लाग्छ। उक्त समयमा जहाज ग्राउन्डेड गरेर राख्दा निगमलाई एउटै जहाजबाट उडानबाट हुने आम्दानीमा तीन अर्ब रुपैयाँसम्म घाटा लाग्ने छ। जसका कारण जहाज उडानका लागि जसरी पनि इन्जिन भाडामा लिनुपर्ने छ।
अहिले वाइडबडीको इन्जिन भाडामा लिन दैनिक २० हजार डलरभन्दा बढी खर्च लाग्छ। यही हिसाबमा निगमले चारवटा इन्जिन मर्मत तथा भाडामा लिन १० अर्ब रूपैयाँभन्दा बढी खर्च लाग्छ। ऋणले थलिएको निगमले तत्काल १० अर्ब रूपैयाँ खर्च गर्नसक्ने अवस्था छैन।
पूर्वकार्यकारी अध्यक्ष अधिकारी लापरबाहीले जहाज ग्राउन्डेड हुँदै
निगमले अहिले वाइडबडी जहाज साइकल सेभको नीतिमा उडान गर्नुपर्ने अवस्था आउनुका पछाडि मुख्य पात्र हुन् २०८२ कात्तिक ७ गते कार्यकारी अध्यक्षबाट अवकाश भएका युवराज अधिकारी।
अधिकारीले नै वाइडबडी जहाजको इन्जिन मर्मत तथा भाडामा लिन कम्पनी छनोटका लागि गर्नुपर्ने काममा ढिलासुस्ती गरेका थिए।
२०८१ को फागुनमै सम्बन्धित विभागले वाइडबडी जहाजको इन्जिन मर्मत तथा इन्जिन भाडामा लिने कामको थालनी आवश्यक भएको भन्दै सूचना दिएको थियो। अधिकारीले उक्त समयमा कमिसनका लागि विभिन्न देशका कम्पनीका प्रतिनिधिसँगको भेट तीव्र बनाए तर आफूलाई सहजरूपमा कमिसन आउने अवस्था नदेखेपछि टेन्डर नै गरेनन्।
कुनै पनि जहाज उडानका आएसँगै कुन मितिमा कस्तो मर्मत गर्ने निश्चित हुन्छ। त्यहीअनुसार तालिका बनाएर काम गर्नुपर्ने भएपनि अधिकारीले वाइडबडी जहाजको इन्जिन मर्मतका लागि कम्पनी छनोटमा कुनै चासो दिएनन्।
२०७४ साउन र भदौदेखि निगमका दुईवटा जहाज व्यावसायिक उडानमा आएका थिए। जहाजले ६ हजार साइकल उडान गरेपछि इन्जिन मर्मत गर्नुपर्ने निश्चित थियो। २०२३ मै निगमको वाइडबडी जहाजको इन्जिन मर्मतको अवस्था आउने थियो तर कोरोनाका कारण जहाज उडानमा भएको कटौतीले वाइडबडी जहाजको साइकल सेभ भएको थियो।
त्यसपछि पनि वाइडबडीको सी-चेकमा भएको लापरबाहीका कारण ८३ दिनसम्म जहाज उडान नहुँदा थप साइकल सेभ भएको थियो। यस्तोमा निगमले इन्जिन मर्मत र भाडामा लिन कम्पनी छनोटमा लापबारही गरेकै कारण जहाज अहिले पनि साइकल सेभको नीतिमा उडिरहेको छ। काम समयमा नहुँदा जहाज नै ग्राउन्डेड हुने अवस्थासमेत आएको छ।
एउटा वाइडबडी एक दिनमात्रै ग्राउन्डेड हुँदा निगमलाई दैनिक १ करोड ५० लाख रुपैयाँ सञ्चालन आय कम हुने छ। दुईवटै वाइडबडी ग्राउन्डेड भएको अवस्थामा दैनिक ३ करोड रुपैयाँभन्दा बढी आम्दानी गुम्छ। त्यसैका कारण निगमको सबैभन्दा बढी आम्दानी हुने जापानको नारिता उडानसमेत बन्द हुने अवस्थामा पुग्ने निश्चित छ।