काठमाडौं- ठमेल प्लाजा होटल एण्ड सुइट्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने प्रस्ताव पारित गर्न वार्षिक साधारणसभा आह्वान गरेको छ।
साउन २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकको निर्णय अनुसार उक्त सभा आगामी भदौ ३१ गते बिहान ९ बजेदेखि ठमेलस्थित टसको सभाकक्षमा सञ्चालन हुनेछ।
सभाले सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गर्ने, आईपीओ निष्कासनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाउने तथा कम्पनीको व्यवसाय विस्तारका लागि जग्गा खरिद गर्ने जस्ता महत्त्वपूर्ण कार्यहरू गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
यसका साथै नियमनकारी निकायहरूबाट प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशोधन, फेरबदल वा थपघट गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम कार्य गर्न सञ्चालक समिति वा समितिले तोकेको प्रतिनिधिलाई सम्पूर्ण अधिकार सुम्पिने प्रस्ताव पनि सभामा पेस गरिनेछ।
त्यस्तै, साधारणसभामा अध्यक्षका तर्फबाट प्रस्तुत हुने आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तसम्मको वासलात, सोही आर्थिक वर्षको नाफा-नोक्सान हिसाब, सेयर पुँजीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरूमाथि छलफल गरी स्वीकृति दिइनेछ।
सभाले कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक समेत तोक्नेछ।