बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

नेपालमा पब्लिकभन्दा गैरनाफामूलक कम्पनी धेरै

सोमबार, भदौ ८ २०८३
नेपालमा पब्लिकभन्दा गैरनाफामूलक कम्पनी धेरै

पब्लिक कम्पनी र मुनाफा वितरण नगर्ने कम्पनीको उद्देश्य तथा संरचना फरक भए पनि पछिल्ला वर्षको दर्ता प्रवृत्तिले पब्लिक कम्पनी स्थापना विस्तारको गति सुस्त रहेको संकेत गर्छ।

काठमाडौं- नेपालमा नयाँ पब्लिक कम्पनीको तुलनामा मुनाफा वितरण नगर्ने कम्पनीको दर्ता संख्या निकै बढी देखिएको छ।

कम्पनी रजिस्ट्रार कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा ६५ वटा पब्लिक कम्पनी दर्ता हुँदा मुनाफा वितरण नगर्ने कम्पनी ८ सय १९ वटा दर्ता भएका थिए। 

पछिल्ला १२ आर्थिक वर्षको तथ्यांकमा हरेक वर्ष मुनाफा वितरण नगर्ने कम्पनीको दर्ता संख्या पब्लिक कम्पनीभन्दा बढी देखिन्छ। आर्थिक वर्ष २०८०/८१ मा यो अन्तर सबैभन्दा ठूलो थियो। उक्त वर्ष दर्ता भएका मुनाफा वितरण नगर्ने कम्पनीको संख्या पब्लिक कम्पनीभन्दा करिब १३ गुणा बढी थियो।

तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ मा ६८ वटा पब्लिक कम्पनी र ७ सय २३ वटा मुनाफा वितरण नगर्ने कम्पनी दर्ता भएका थिए। २०७९/८० मा क्रमशः ८५ र ६ सय ८२ तथा २०८१/८२ मा १ सय ८ र ५ सय ५७ वटा दर्ता भएका छन्।

चालु आर्थिक वर्ष २०८२/८३ को उपलब्ध अवधिमा ४४ वटा पब्लिक कम्पनी दर्ता हुँदा मुनाफा वितरण नगर्ने कम्पनी ३ सय २१ वटा दर्ता भएका छन्।

मुनाफा वितरण नगर्ने कम्पनीको संख्या धेरै हुनुको एउटा कारण विभिन्न गैरसरकारी तथा गैरनाफामूलक संस्था पनि यही कानूनी संरचनाअन्तर्गत दर्ता हुनु हो।

photto.png

कम्पनी ऐन, २०६३ अनुसार सामाजिक, शैक्षिक, स्वास्थ्य, परोपकारी तथा अन्य सार्वजनिक उद्देश्यका संस्था मुनाफा वितरण नगर्ने कम्पनीका रूपमा स्थापना हुन सक्छन्।

तर दर्ताको तथ्यांकले नयाँ व्यवसाय विस्तारका लागि सर्वसाधारणबाट लगानी जुटाउने पब्लिक कम्पनी स्थापना गर्ने क्रम कमजोर रहेको देखाउँछ। निजी कम्पनीको दर्ता भने हरेक वर्ष हजारौँको संख्यामा हुने गरेको छ।

पब्लिक कम्पनी र मुनाफा वितरण नगर्ने कम्पनीको उद्देश्य तथा संरचना फरक भए पनि पछिल्ला वर्षको दर्ता प्रवृत्तिले पब्लिक कम्पनी स्थापना विस्तारको गति सुस्त रहेको संकेत गर्छ।

कम्पनी रजिस्ट्रार कार्यालयका अनुसार २०७१ सम्म १ हजार ३ सय ६१ वटा पब्लिक कम्पनी र ५ सय ९६ वटा मुनाफा वितरण नगर्ने कम्पनी दर्ता भएका थिए। त्यसपछि भने हरेक आर्थिक वर्ष नयाँ दर्तामा मुनाफा वितरण नगर्ने कम्पनीको संख्या पब्लिक कम्पनीभन्दा बढी रहँदै आएको छ।

नेपालमा बाध्यकारी बनाइएकाबाहेक अन्यत्र पब्लिक कम्पनीमा रूपान्तरण हुने क्रम निकै सुस्त छ। 


प्रकाशित : सोमबार, भदौ ८ २०८३१०:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend