बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

हेटौँडा कपडा उद्योग निरीक्षणमा मन्त्री, सञ्चालनको चुनौतीसँगै उत्पादन वृद्धि र रोजगारी सिर्जनाका सम्भावनाबारे छलफल

शनिबार, भदौ ६ २०८३
हेटौँडा कपडा उद्योग निरीक्षणमा मन्त्री, सञ्चालनको चुनौतीसँगै उत्पादन वृद्धि र रोजगारी सिर्जनाका सम्भावनाबारे छलफल

राजनीतिक हस्तक्षेप, फितलो व्यवस्थापन र बढ्दो आर्थिक दायित्वका कारण २०५६ सालदेखि उत्पादन बन्द भएको यो उद्योग २०५७ सालदेखि पूर्णरूपमा बन्द हुन पुगेको थियो।

हेटौँडा- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छिन्। शनिबार बिहान मन्त्री यादवसहितको टोली हेटौँडा उपमहानगरपालिका-८ स्थित हेटौँडा कपडा उद्योगमा पुगेको हो।

उद्योगको निरीक्षण गर्दै मन्त्री यादवले उद्योग सञ्चालन गर्नका लागि सरकारले आवश्यक लगानी गर्ने बताइन्। उद्योग कुन ‘मोडालिटी’मा सञ्चालन गर्ने त्यसबारेमा छलफल गरिरहेको उनले जानकारी दिइन्।

सरकार कपडा उद्योगलगायत बन्द उद्योगहरु पुन: सञ्चालन गर्ने तयारीमा रहेको जानकारी उनले गराइन्। मन्त्री यादवले नेपाली सेनाका अधिकृतहरुसँग कपडा उद्योगको पूर्वाधारको अवस्था र सञ्चालनका बारेमा जानकारी लिएकी थिइन्।

प्रमुख जिल्ला अधिकारी वसन्तराज अधिकारी, नेपाली सेनाका प्रमुख सेनानी रुपेन शाक्य, हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयकी व्यवस्थापक संगीता क्वुरलगायत पनि निरीक्षण टोलीमा थिए। निरीक्षणका क्रममा कपडा उद्योगमा रहेका ४८८ मेसिन(तान)मध्ये हाल १२ वटा तानमात्र सञ्चालनमा रहेको जानकारी गराइएको थियो।

मन्त्री यादवले कपडा उद्योगको वर्तमान अवस्था, उद्योग सञ्चालनमा देखिएका चुनौती तथा उत्पादन वृद्धि र रोजगारी सिर्जनाका सम्भावनाबारे सरोकारवालासँग छलफल पनि गरिन्।

साढे दुई दशकदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगको तीन साता अघि परीक्षण उत्पादन गरिएको थियो। सरकारले नेपाली सेनालाई उद्योगको मर्मतसम्भार गरेर उत्पादन गर्ने जिम्मेवारी दिएपछि साउन २३ मा २ वटा लुम (तान)सञ्चालन गरेर प्रारम्भिक उत्पादन परीक्षण गरेको थियो। 

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको लगानीमा २०३२ सालमा हेटौँडा कपडा उद्योग स्थापना भएको थियो। यसले २०३५ सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो। राजनीतिक हस्तक्षेप, फितलो व्यवस्थापन र बढ्दो आर्थिक दायित्वका कारण २०५६ सालदेखि उत्पादन बन्द भएको यो उद्योग २०५७ सालदेखि पूर्णरूपमा बन्द हुन पुगेको थियो। 

२०५९ सालमा तत्कालीन सरकारले उक्त उद्योग पूर्णरूपमा बन्द गर्ने औपचारिक निर्णय गरेको थियो। विगतमा बजार व्यवस्थापन हुन नसक्नु, प्रविधिको समयसापेक्ष आधुनिकीकरण नगरिनु, लोडसेडिङको समस्या, आवश्यकताभन्दा धेरै जनशक्ति हुँदा परेको आर्थिक भार र कमजोर व्यवस्थापकीय क्षमताका कारण यो ऐतिहासिक उद्योग धराशायी बन्न पुगेको थियो।


प्रकाशित : शनिबार, भदौ ६ २०८३१३:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend