बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

प्राकृतिकरूपमा धनी तर पूर्वाधारमा पछाडि परेको अस्ताम गाउँ, प्रधानमन्त्री बालेन्द्रको भ्रमणले मुहार फेरिने आशा

प्रधानमन्त्रीलाई स्थानीयले भने - 'नयाँ नेतृत्वबाट ठूला अपेक्षा छ, हाम्रो डाँडामा पानी र बाटो पुगोस्'

शनिबार, भदौ ६ २०८३
प्राकृतिकरूपमा धनी तर पूर्वाधारमा पछाडि परेको अस्ताम गाउँ, प्रधानमन्त्री बालेन्द्रको भ्रमणले मुहार फेरिने आशा

अस्ताम गाउँ भौगोलिकरूपमा उच्च डाँडामा अवस्थित भएकाले यहाँको सबैभन्दा ठूलो र प्रमुख समस्या भनेकै खानेपानी र सिँचाइको अभाव हो। स्थानीयका अनुसार यहाँका बहुसंख्यक बासिन्दाहरू किसान हुन् तर पानीको चरम अभावका कारण उनीहरूको पसिना खेर गइरहेको छ।

अस्ताम- अस्तामका स्थानीयवासीले भ्रमणमा पुगेका प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष विभिन्न मागहरु राखेका छन्। कास्कीको माछापुच्छ्रे गाउँपालिका-३ अस्ताममा शुक्रबार प्रधानमन्त्री पुग्दा स्थानीयले आधारभूत समस्याहरू सुनाए।

प्रधानमन्त्री बालेन अस्तामको प्रसिद्ध ‘अन्नपूर्ण इको भिलेज’ मा बस्ने तालिका रहेको जानकारी पाएपछि स्थानीयहरू गाउँको मुहार फेरिने आशामा उत्साहित देखिएका थिए। बाटो छेउमा भेटिएकी स्थानीय ज्ञानु अधिकारीले भनिन्, ‘पुराना दलहरूलाई वर्षौँ भोट दियौँ तर केही भएन। अब नयाँ नेतृत्वले देश र जनताका लागि केही राम्रो गर्छन् कि भन्ने ठूलो आश छ।’

उनले नयाँ राजनीतिक दलहरुले राम्रो काम गर्नुपर्ने बताइन्। अपराध गर्नेलाई विदेशमा जस्तै कडा भन्दा कडा कारबाही गर्नुपर्ने उनको सुझाव छ। उनले भनिन्, ‘पुरानालाई अब फालियो, नयाँहरुले राम्रो गर्नुहुन्छ कि भन्ने आशा छ। तर अपराध गर्नेलाई विदेशमा जस्तै कडाभन्दा कडा कारबाही गर्ने कानून बन्नुपर्छ।’

अस्ताम गाउँ भौगोलिकरूपमा उच्च डाँडामा अवस्थित भएकाले यहाँको सबैभन्दा ठूलो र प्रमुख समस्या भनेकै खानेपानी र सिँचाइको अभाव हो। विश्वविद्यालयका प्राध्यापक तथा स्थानीय होटल व्यवसायीका अभिभावक नन्दलाल अधिकारीका अनुसार यहाँका बहुसंख्यक बासिन्दाहरू किसान हुन् तर पानीको चरम अभावका कारण उनीहरूको पसिना खेर गइरहेको छ।

‘यो ठाउँ एकदम उच्च भागमा भएकाले मुख्यरूपमा खानेपानीकै ठूलो समस्या छ। हामीले पोखराको नजिकै भएर पनि सिँचाइ अभावमा तरकारी खेती विस्तार गर्न सकेका छैनौँ। यदि सरकारले यहाँ व्यवस्थित खानेपानी र सिँचाइ योजना ल्याइदिने हो भने कृषकहरूले उत्पादन गरेको ताजा तरकारी यहीँका होटल र नजिकैको पोखरा बजारमा सहजै बेचेर आत्मनिर्भर बन्न सक्छन्’, अधिकारीले स्पष्ट पारे।

खानेपानी नभएको ठाउँमा पानीबिना तरकारी खेती सम्भव नरहेको बताए। उनले पोखराको नजिकै रहेकाले पानीको व्यवस्थापन भए कृषक आर्थिक रुपमा समृद्ध हुने बताए। उनले भने, ‘खानेपानी त पुग्दैन भने पानी नभइ तरकारी खेती सम्भव नै छैन। पोखराको नजिकै भएकाले यहाँ पानीको व्यवस्थापन भए कृषकहरू आर्थिकरूपमा समृद्ध बन्नेछन्।’

पोखराबाट छोटो दूरीमै रहेको भएपनि अस्ताम पुग्ने मुख्य सडक अत्यन्तै कच्ची र अप्ठ्यारो अवस्थामा छ। स्थानीय रामप्रसाद अधिकारी र शोभाखर अधिकारीले सडक र पिउने पानीको समस्यालाई पहिलो प्राथमिकतामा राखेर समाधान गरिदिन प्रधानमन्त्रीसमक्ष आग्रह गरे।

स्थानीय अधिकारीले भने, ‘हाम्रो मुख्य अपेक्षा भनेको बाटो नै हो। बर्खामा त पानीको जोहो हुन्छ तर हिउँदमा काकाकुल हुनुपर्छ। अप्ठ्यारो बाटोले गर्दा बिरामी पर्दा अस्पताल पुर्‍याउन समेत गाह्रो छ।’

अर्का स्थानीय शोभाखर अधिकारीले भने, ‘अहिलेसम्म यहाँ कुनै प्रधानमन्त्री आउनुभएको थिएन। अहिले बालेनज्यू आउनुभएको छ, उहाँले हाम्रो यो अप्ठ्यारो बाटो कालोपत्रे गरिदिए र पानीको धारा जोडिदिए हामी गाउँलेको ठूलो कल्याण हुने थियो। प्रधानमन्त्री हाम्रो गाउँमा आएर नजर राखिदिनुभएकोमा हामी ज्यादै खुशी छौँ। उहाँले हाम्रो बाटो र पानीको समस्या बुझेर काम गरिदिए हामी सधैँ आभारी रहनेछौँ।’

अस्ताम केवल समस्याको गाउँ मात्र होइन, यो प्रकृतिको अनुपम वरदान पाएको स्वर्ग जस्तै पर्यटकीय गन्तव्य हो। यहाँबाट माछापुच्छ्रे हिमाल ऐनामा जस्तै छर्लङ्ग र नजिकै देखिन्छ। यसका साथै अन्नपूर्ण रेन्ज, मनास्लु रेन्ज र धौलागिरी हिमशृङ्खलालाई एकै स्थानबाट ३६० डिग्रीमा अवलोकन गर्न सकिन्छ।

प्राध्यापक नन्दलाल अधिकारीकाअनुसार पोखरामा चर्को गर्मी हुँदा पनि अस्ताममा वर्षैभरि शीतल हावापानी रहने भएकाले यो विदेशी तथा आन्तरिक पर्यटकका लागि योग, ध्यान र प्रकृतिको आनन्द लिने उत्कृष्ट केन्द्र बनेको छ। यहाँ रहेका प्राकृतिक ओडार र गुफाहरूको संरक्षण गर्दै उच्च पर्वतीय खेलकुदको पूर्वाधार निर्माण गर्नसके यसले समग्र देशकै अर्थतन्त्रमा ठूलो टेवा पुर्‍याउने स्थानीयको दृढ विश्वास छ।

प्रधानमन्त्रीको भ्रमणमा विकास निर्माणका माग मात्र उठेनन्, गाउँले महिलाहरूले देशको शान्ति सुरक्षा र न्याय प्रणालीप्रति समेत गम्भीर चासो व्यक्त गरे। स्थानीय ज्ञानु अधिकारीले देशमा बढ्दो अपराध, बालिका तथा महिला हिंसाप्रति आक्रोश पोख्दै कडा कानून कार्यान्वयनको माग गरिन्। 

प्राकृतिकरूपमा धनी तर पूर्वाधारमा पछाडि परेको अस्ताम गाउँले प्रधानमन्त्री बालेन्द्र साहको बसाइबाट नयाँ आशाको किरण देखेको छ।


प्रकाशित : शनिबार, भदौ ६ २०८३१२:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend