काठमाडौं- सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्न ६ सदस्यीय समिति गठन गरेको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले यस्तो जानकारी दिएका हुन्।
उनका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शासकीय मामिला हेर्ने सहसचिवको संयोजकत्वमा उक्त समिति गठन गरेको हो।
यसअघि भदौ ३ गते बसेको मन्त्रिपरिषद्को बैठकले ‘सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३’ स्वीकृत गरेको थियो।
समितिले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्नको लागि काम गर्ने प्रवक्ता अर्यालले बताए। उक्त केन्द्रमा एक जना कार्यकारी निर्देशकसहित ३० जना कर्मचारीको व्यवस्था गर्नेगरी तयारी भइरहेको उनको भनाइ छ। उक्त केन्द्रले सरकारी सेवामा डिजिटल प्रणाली विस्तार, विद्युतीय शासन तथा प्रविधिमैत्री सेवा प्रवाहलाई व्यवस्थापन गर्ने बताइएको छ।
‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को शासकीय मामिला हेर्ने सचिवज्यूको संयोजकत्वमा एउटा ६ सदस्यीय समिति गठन भएको छ। मुख्यत: यो सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेशले यो समितिको व्यवस्था गरेको छ। यसले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने यसको मूल उद्देश्य हो। यस केन्द्रमा एक जना कार्यकारी निर्देशकसहित ३० जना कर्मचारीको व्यवस्था समेत गरिएको छ। यससँगै आवश्यकताअनुसार थप विज्ञ कर्मचारी लिनसक्ने गरी यस्तो व्यवस्था गरिएको हो’ उनले भने।
प्रधानमन्त्री कार्यालयबाट सबै मन्त्रालयलाई नागरिकले तत्काल अनुभूत गर्ने किसमका ६५ वटा अवधारणाको मस्यौदा पठाइएको र सम्बन्धित मन्त्रालयहरूले उक्त मस्यौदालाई कार्यान्वयनमा लगिसकेकोसमेत उनले जानकारी दिए।