काठमाडौं- नेपाली भाषाको उद्गमस्थल मानिने जुम्लाको सिँजा उपत्यकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ। कनकासुन्दरी गाउँपालिकाको गुठीज्युला बजार क्षेत्रमा नयाँ टावर स्थापना गरी बिहीबारदेखि सेवा सुरु गरिएको हो।
नेपाल टेलिकम जुम्ला कार्यालयका प्रमुख पारस पुजाराका अनुसार नयाँ टावरबाट कनकासुन्दरी गाउँपालिकाका वडा नं. ३, ४, ५, ६ र ८ का विभिन्न क्षेत्रमा फोरजी सेवा पुगेको छ।
गौरी, ओखरवाडा, हाट सिँजा, सिम्पाती, लुड्कु, गुठीज्युला बजार, बडुवालवाडा, बारकुडीवाडा, सञ्जेलवाडा, जाच र गोडिङ्गालगायतका बस्तीले नयाँ सेवाबाट लाभ पाउनेछन्।
टावर स्थापना भएको दुई महिनाभन्दा बढी समय भइसके पनि राष्ट्रिय प्रसारण लाइनको विद्युत् नपुग्दा सेवा सञ्चालनमा ढिलाइ भएको पुजाराले बताए। हाल टावर सोलार ब्याट्रीबाट सञ्चालन गरिएको छ। राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् जडान हुन नसकेपछि तत्कालका लागि सोलार प्रणालीमार्फत सेवा सुरु गरिएको टेलिकमले जनाएको छ।
सरकारले दुर्गम र पर्यटकीय क्षेत्रमा दूरसञ्चार सेवाको पहुँच विस्तारलाई प्राथमिकता दिएको छ। सोही योजनाअनुसार बाजुराको बडीमालिका मन्दिर क्षेत्रमा यसै हप्ताभित्र फोरजी सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। सगरमाथा आधार शिविर क्षेत्रमा पनि फोरजी सेवा विस्तारको सम्भाव्यता अध्ययन भइरहेको नेपाल टेलिकमले जनाएको छ।
यसअघि उच्च हिमाली क्षेत्रका विभिन्न स्थानमा फोरजी सेवा विस्तार भइसकेको छ। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ स्थित ल्हान तथा ठूलीभेरी नगरपालिका–१, दुनैमा समुद्री सतहबाट करिब तीन हजार नौ सय मिटर उचाइमा फोरजी सेवा सञ्चालनमा छ। ताप्लेजुङको ओलाङचुङगोलामा पनि करिब तीन हजार चार सय मिटर उचाइमा फोरजी सेवा पुगिसकेको छ।
दूरसञ्चार सेवाको पहुँच कमजोर रहेका अन्य दुर्गम क्षेत्रमा पनि सेवा विस्तार गर्ने योजना सरकारको छ। हाल देशभर सेवा विस्तार र गुणस्तर सुधारका लागि करिब एक हजार छ सय नयाँ मोबाइल टावर तथा सम्बन्धित साइट निर्माणको प्रक्रिया अघि बढाइएको टेलिकमले जानकारी दिएको छ।